Logo

समाचार

नेपालमा लगानीका लागि बेलायती कम्पनीहरूलाई आग्रहलण्डन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायती कम्पनीहरूलाई जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, पूर्वाधार र उत्पादन क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

बेलायत–नेपाल चेम्बर अफ कमर्स र लन्डनस्थित नेपाली दूतावासको संयुक्त आयोजनामा लन्डनमा आयोजित व्यापार प्रवर्द्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका लागि अनुकूल वातावरण रहेको दाबी गरे।

उनका अनुसार नेपालमा ४० हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन क्षमताको सम्भावना, सस्तो श्रमशक्ति, बढ्दो मध्यम वर्ग र रणनीतिक भौगोलिक अवस्थाले लगानीमैत्री वातावरण तयार पारेको छ।

“स्वच्छ र हरित ऊर्जा भविष्यको आवश्यकता हो। नेपालमा जलविद्युतलगायत क्षेत्रहरूमा उल्लेखनीय सम्भावना छन्, र बेलायती कम्पनीहरूलाई ती क्षेत्रमा सहकार्य गर्न आमन्त्रण गर्दछु,” उनले भने।

कार्यक्रममा दुवै देशका व्यापारी, लगानीकर्ता र समुदाय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष ढकालले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई व्यापार र लगानीमार्फत अझ सुदृढ बनाउन सकिने बताए।

उनले सूचना प्रविधिमा नेपाली युवाको दक्षता र सेवा प्रवाह क्षमताले नेपाललाई डिजिटल सेवा र आउटसोर्सिङको केन्द्र बनाउने सम्भावना रहेको उल्लेख गरे। महासंघ नेपालमा लगानीका लागि आवश्यक नीति, सहजीकरण र स्थायित्वमा प्रतिबद्ध रहेको पनि उनले बताए।

कार्यक्रमले नेपाल–बेलायतबीचको व्यापारिक र आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : ५७ बजे