Logo

समाचार

बागमती प्रदेशको बजेट ‘ढोका नदेखेको बजेट’ जस्तै भयो :  सांसद तामाङ



हेटौंडा । बागमती प्रदेश सरकारको आगामी वर्षको बजेटप्रति प्रदेशसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलको उपनेता गिर बहादुर तामाङ (ज्ञानजन) ले आपत्ति जनाएका छन् ।

प्रदेश सभामा बोल्दै सांसद तामाङले सरकारले ल्याएको बजेटलाई ‘ढोका नदेखेको बजेट’ भन्दै कटाक्ष गरे ।

उनले भने, ‘यो बजेटले जनताको घरको ढोका देखेको छैन, जनताको जीवन र आवश्यकतालाई छोएको छैन । केवल कागजमा लेखिएको सपना हो ।’

उनले बजेटमा गरिब, मजदुर, किसान, विद्यार्थी र युवाका पक्षमा ठोस कार्यक्रम नआएको भन्दै सरकारको दृष्टिकोण नै जनमुखी नभएको आरोप लगाए । तामाङले सत्तापक्षलाई लक्षित गर्दै भने, ‘यो बजेट शासकका लागि हो, जनता र प्रदेशका लागि होइन ।’

सांसद तामाङले बजेट पुनर्विचार गर्न माग गर्दै योजना निर्माणमा जनसहभागिता, क्षेत्रगत आवश्यकतालाई प्राथमिकता र खर्चको पारदर्शिता सुनिश्चित गर्नुपर्ने धारणा राखे ।

प्रदेशसभामा बजेटमाथि चलिरहेको छलफलका क्रममा विभिन्न दलका सांसदहरूले बजेटप्रति आलोचनात्मक टिप्पणी गरिरहेका छन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : १४ बजे