काठमाडौं । कञ्चनपुर जिल्लामा आइतबार बिहान भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान ५:४० बजे हनुमाननगर वर्षा मापन केन्द्रमा पछिल्लो एक घण्टामा भारी वर्षा मापन गरिएको हो।
विभागले चौधर नदी तथा साना खोलामा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्र र होचो भू–भागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै सम्भावित डुबान तथा बाढीको जोखिमबाट जोगिन सावधानी अपनाउन अनुरोध गरेको छ।
यसअघि गए राति काठमाडौंसहित देशका विभिन्न स्थानमा पनि वर्षा भएको विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा आइतबार र सोमबार ‘धेरै भारी वर्षा’ हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
विभागले स्थानीय प्रशासन, सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सुझाव दिएको छ।
प्रतिक्रिया