Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्वारा अन्तर्राष्ट्रिय साना तथा मझौला व्यवसाय दिवस र हाटबजारको २५औं हप्ता भव्य रूपमा सम्पन्न



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय (एलएसएमई) दिवस र ‘ग्लोबल हाटबजार’ कार्यक्रमको २५औं हप्तालाई विशेष मेलाको रूपमा मनाएको छ।

उक्त अवसरमा बैंकले शुक्रबार काठमाडौंको कमलादीस्थित शाखामा आयोजित हाटबजारमा दुई दर्जनभन्दा बढी लघु, साना तथा मझौला उद्यमीहरूका विषादी रहित कृषि उपज, रैथाने बाली, हस्तकला सामग्री तथा सजावटका बिरुवा प्रदर्शन तथा बिक्रीका लागि राखिएको थियो।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कार्यक्रममा बोल्दै देशको समग्र अर्थतन्त्रमा एलएसएमई क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए। उनले हाटबजारले उद्यमीहरूको उत्पादन बजारीकरण गर्न, उपभोक्ता र कृषकबीच प्रत्यक्ष सम्पर्क कायम गर्न तथा उत्पादनको उचित मूल्य दिलाउन सघाएको उल्लेख गरे।

रेग्मीले भने, “हामीले सानो तथा साङ्केतिक रूपमा सुरु गरेको हाटबजार आज एउटा फराकिलो अभियानको रूपमा विकसित भइसकेको छ। यसले अर्गानिक, रैथाने र स्थानीय उत्पादन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको छ।”

ग्लोबल आइएमई बैंकले हरेक शुक्रबार कमलादी शाखामा हाटबजार सञ्चालन गर्दै आएको छ, जसको माध्यमबाट बैंकले आफ्ना लगानी प्राप्त उद्यमीहरूका उत्पादनको बजार पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ।

हालसम्म बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न सन्दर्भमा समयानुकूल सेवा योजनाहरू पनि सञ्चालन गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक हालै मात्रै ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरिसकेको छ।

देशका ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरिसकेको यस बैंकको ३५२ शाखा, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर तथा ३ वटा विदेशी प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रहरू छन्।

बैंकले नेपालमा मात्रै होइन, अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया, मलेशिया, कतार, यूएई लगायतका मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ०७ बजे