काठमाडौँ । सामाजिक सञ्जालमार्फत २३ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना युवा पक्राउ परेका छन्। ठगीमा संलग्न रहेका उनीहरूले एक करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार समिर तामाङ नामक सामाजिक सञ्जाल खाताबाट फेसबुक पेज तथा टेलिग्राम ग्रुपमार्फत विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गरेमा लाभ हुने र अनलाइन जागिरको व्यवस्था गरिदिने आश्वासन दिइएको थियो। उक्त प्रलोभनमा परी पीडितहरूले विभिन्न बैंक खातामा जम्मा गरी रु. २३ लाख १५ हजार रुपैयाँ ठगी भएको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले दुई जनालाई माइतीघरबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा धादिङको थाक्रे गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ बस्ने १९ वर्षीय समिर तामाङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले एक करोड ३१ लाख ६२ हजार ६ सय ७५ रुपैयाँ बराबरको क्रिप्टो करेंसी कारोबारसमेत गरेको खुलाएको छ। काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया