Logo

मुख्य समाचार

संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृत भाषा नेपालमा केवल भाषा नभई शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार भएको दावी गरे ।

उनले नेपालका हिमाल, नदी, पहाड र हावापानी स्वयं साधकहरूलाई प्रेरणा दिने तत्व भएको उल्लेख गर्दै नेपालको हावा, पहाड, नदी, हिमाललगायत सम्पूर्ण वातावरण साधनाको ऊर्जा दिने खालको भएको बताए ।

सम्मेलनमा विश्वका २० भन्दा बढी विश्वविद्यालयका कुलपति तथा उपकुलपति, तथा विविध शास्त्रका ज्ञाताहरूको सहभागिता उल्लेखनीय भएको बताउँदै मन्त्री पाण्डेले यस सम्मेलनलाई पूर्वीय ज्ञान र वैदिक चिन्तनको ‘महाकुम्भ’ को संज्ञा दिए ।

उनले पशुपतिनाथ, लुम्बिनी, गण्डकी नदी र जनकपुरलाई तीर्थस्थलका रूपमा स्मरण गर्दै नेपालमा आज पनि वैदिक संस्कार र संस्कृतिको दिव्य अनुभूति पाउन सकिने बताए ।

नेपालका सांस्कृतिक धरोहरहरू र वैदिक परम्पराको ऐतिहासिक गाथा प्रस्तुत गर्दै मन्त्री पाण्डेले पाणिनि, कपिलमुनि, वेदव्यास, वाल्मीकि, राजर्षि जनक, याज्ञवल्क्य र भगवान गौतम बुद्धजस्ता महापुरुषहरूका योगदान स्मरण गरे ।

उनले यो भूमि पुनः वैदिक वातावरण सिर्जनाको बाटोमा अघि बढिरहेको बताउँदै त्यस कार्यमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ५ : ४६ बजे