काठमाडौं ।नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय युवा संघ नेपालका सदस्यहरूलाई अनुशासित, क्षमतावान र समाजप्रति उत्तरदायी बन्न निर्देशन दिएका छन्।
सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले युवा संघका कार्यकर्ताहरू अहंकारी वा हिंसात्मक होइन, विनम्र र शालीन बन्नुपर्ने बताएका हुन्।
“बलवान हुनु राम्रो हो, तर गुण्डा हुनु होइन,” उनले भने, “हाम्रो युवा संघ क्षमतावान, बलवान र शालीन हुनु आवश्यक छ।”
प्रधानमन्त्री ओलीले युवाहरूले समाजका लागि काम गर्नुपर्नेमा जोड दिए। “म केवल आफ्ना लागि होइन, समाज र अरूका लागि पनि हुँ भन्ने सोच आवश्यक छ,” उनले भने।
तर, उनले अन्याय सहनु नहुने पनि बताए। कसैले दुर्व्यवहार वा आक्रमण गरे त्यसको प्रतिकार गर्नुपर्ने भन्दै ओलीले भने, “यदि कसैले गालामा प्रहार गर्छ भने ‘ओम शान्ति’ भन्दै चुप लागेर बस्नु हुँदैन। अन्यायविरुद्ध जुझारु बन्नुपर्छ।”
उनको भनाइअनुसार, युवा संघका कार्यकर्ताहरूले संयमित तर सशक्त रूपमा सामाजिक अन्याय र आक्रमणको प्रतिकार गर्नुपर्ने छ।
प्रतिक्रिया