Logo

मुख्य समाचार

असार १५ देखि चितवन निकुञ्जमा जिप सफारी बन्द, भरतपुरमा भूमिगत विद्युतीकरणको काम पनि रोकियो



चितवन । चितवन राष्ट्रिय निकुञ्जमा यही असार १५ गतेदेखि जिप सफारी सेवा बन्द गरिने भएको छ। वर्षायामका कारण सडक चिप्लो, हिलो र अवरुद्ध हुने सम्भावना बढेपछि निकुञ्ज प्रशासनले हरेक वर्षझैं यो समय जिप प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार वर्षाले क्षति पुर्‍याएका सडक मर्मतपश्चात् असोजको तेस्रो सातादेखि जिप सफारी पुनः सञ्चालन गरिने अपेक्षा गरिएको छ। गत वर्ष पनि सफारी असार १६ गतेदेखि बन्द भई असोज २४ गते फूलपातीको दिनबाट सञ्चालनमा आएको थियो। सौराहा, कसारा, मेघौली र अमलटारी क्षेत्रबाट दैनिक सञ्चालनमा आउने ५४ वटा जिप अस्थायी रूपमा रोकिने छन्।

यसबाहेक, पैदल यात्रा, घडियाल प्रजनन केन्द्र अवलोकन लगायतका अन्य पर्यटकीय गतिविधिहरु भने नियमित रूपमा सञ्चालन भइरहनेछन्। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले वर्षायाममा वन्यजन्तुको गतिविधिमा अवरोध नहोस् भनेर निकुञ्ज केही समयका लागि बन्द गरिँदै आएको जानकारी दिए।

उता, भरतपुर महानगरपालिकामा भइरहेको भूमिगत विद्युतीकरणको काम पनि तीन महिनाका लागि रोकिएको छ। सडक विभागले वर्षातमा सडक खन्न नदिने निर्णय गरेपछि असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम स्थगन गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजना प्रमुख इञ्जिनीयर आनन्द सुवेदीका अनुसार हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ। पाइप गाड्ने र खाल्डा खन्ने काम रोकिए पनि पोल गाड्ने र केवल जोड्ने काम भने जारी रहेको उनले बताए।

एक अर्ब ४० करोड रुपैयाँ लागतको यो परियोजना भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले निर्माण गरिरहेको हो। एशियाली विकास बैंकको सहयोगमा सञ्चालनमा रहेको यो आयोजना सन् २०२४ को जनवरीमा सकिने लक्ष्य थियो तर थप आठ महिनाका लागि समय विस्तार गरिएको छ। वर्षातपछि निर्माण कार्यलाई तीव्रता दिइने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ४० बजे