जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चितवनको माडी नगरपालिका–९ मा अवस्थित प्राचिन वाल्मीकि आश्रमको अध्ययन तथा अवलोकन गरेका छन् ।
आश्रम क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व गहिरो रहेको उल्लेख गर्दै उनले सो स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन् ।
मुख्यमन्त्री सिंहले आइतबार आश्रमको अवलोकनपछि सितामाताले पाताल लोक प्रवेश गरेको पवित्र स्थलमा पूजा–अर्चना गर्दै धार्मिक ऊर्जा अनुभव गरेको बताए ।
उनले आश्रमसम्म पुग्न अझै पनि पर्याप्त बाटो नपुगेकोमा चिन्ता व्यक्त गरे । संघीय सरकार, प्रदेश सरकार, पुरातत्व विभाग र सरोकारवाला निकायको ध्यान तत्काल आकृष्ट गराउँदै उनले पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्ने बताए ।
‘चितवनको माडीमा रहेको यो स्थल धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ,’ उनले भने,‘यदि जनकपुरधाम र वाल्मीकि आश्रमलाई धार्मिक मार्गद्वारा जोड्न सकियो भने धार्मिक पर्यटनको सम्भावना अझ प्रगाढ बन्नेछ ।’
धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समुन्नत विकास, रोजगारी सिर्जना र पर्यटन विस्तारका लागि जनकपुरधामदेखि वाल्मीकि आश्रमसम्मको धार्मिक मार्ग निर्माणमा मधेश प्रदेश सरकार प्रतिवद्ध रहेको पनि उनले उल्लेख गरे ।
वाल्मीकि आश्रमसँग सम्बन्धित धार्मिक आख्यान, सीता माता र रामायणसँगको सम्बन्ध, र आसपासका प्राकृतिक सौन्दर्यले यो क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने सम्भावना रहेको स्थानीयको विश्वास छ ।
प्रतिक्रिया