Logo

समाचार

काठमाण्डौंमा लागू पदार्थ सेवन गरी सवारी चलाउने आठ चालक नियन्त्रणमा



काठमाण्डौं । काठमाण्डौं जिल्ला प्रहरी परिसरले लागू पदार्थ सेवन गरी सवारी साधन सञ्चालन गर्ने आठ जना चालकलाई नियन्त्रणमा लिएको छ। असार ४ गते दिउँसो ४ बजेबाट ५ बजेभित्र काठमाण्डौं महानगरपालिका–१४, बालुवाटार क्षेत्रमा विशेष अपरेसनको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार लागू औषध सेवन गरी सवारी चलाउँदा मानसिक सन्तुलन गुमाउने, दुर्घटनाको सम्भावना बढाउने र अपराधजन्य क्रियाकलापमा संलग्न हुने सम्भावना उच्च हुने भएकाले यस्तो गतिविधिलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गरिएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षण तथा सोधपुछका आधारमा उनीहरूले लागू पदार्थ सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चालकहरूमा धनुषाको मिथिला नगरपालिका, बाराको निजगढ, गढीमाई र परवानीपुर नगरपालिका, रुकुम पूर्वको बन्पुरी, मकवानपुरको बकैया, उदयपुरको रौतामाई गाउँपालिका र महोत्तरीको महोत्तरी नगरपालिका स्थायी ठेगाना भएका व्यक्ति रहेका छन्। उनीहरू सबै हाल काठमाण्डौं बसोबास गर्दै आएका थिए।

प्रहरीले उनीहरूलाई लागू औषध सम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौंबाट पाँच दिनको म्याद लिएको जनाएको छ। अनुसन्धानपछि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिए।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ८ : २१ बजे