काठमाडौँ । काठमाडौँको ठमेल नजिकै डेरा गरी बस्दै आएकी एक महिला लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेकी छन्। धनुषा जिल्लाको जनकपुर घर भई हाल काठमाडौँ महानगरपालिका–१५ मा बसोबास गर्दै आएकी २० वर्षीया मनिया ठाकुरलाई प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।
२०७८ असार ४ गते साँझ ५ बजेको समयमा प्रहरीले उनको डेरामा छापा मारेको थियो। सो क्रममा विभिन्न नाममा रहेका ठूलो मात्रामा लागुऔषधहरू फेला परेको प्रहरीले जनाएको छ। ठाकुरले ती औषधिहरू अवैध रूपमा बिक्री वितरण गर्दै आएकी थिइन् भन्ने सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै अन्ततः नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी ठाकुरको कोठाबाट ट्रामाडोल, फेनारागन, डाइजेपाम, नर्फिनलगायतका विभिन्न औषधिहरू फेला परेका छन्। ती औषधिहरूको कूल मूल्य नेपाली रुपैयाँ २ लाख ५८ हजार ६ सय बराबर रहेको प्रहरीको प्रारम्भिक अनुमान छ।
ठाकुरमाथि लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ। काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।
प्रतिक्रिया