Logo

विश्व

थाई प्रधानमन्त्रीको पद संकटमा: कम्बोडियाली नेतासँगको लिक भएको फोन संवादपछि सरकार संकटमा



काठमाडौं । थाई प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको नेतृत्वमा रहेको गठबन्धन सरकार गम्भीर संकटमा परेको छ। कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको सीमा विवादबारे भएको निजी फोन संवाद लिक भएपछि देशभर तीव्र आलोचना सुरु भएको छ, जसले प्रधानमन्त्रीको पद धरापमा पारेको छ।

लिक भएको अडियोमा प्रधानमन्त्री शिनावात्राले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र एक थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने अभिव्यक्ति दिएका कारण विवाद चुलिएको हो। यसले थाई सेनामा असन्तोष सिर्जना भएको छ भने राजनीतिक वृत्तमा पनि ठूलो तरंग ल्याएको छ। उनीमाथि देशको प्रभावशाली सेनालाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाइएको छ।

विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन्। जनस्तरबाट पनि तीव्र आक्रोश व्यक्त भइरहेको छ। विवादको चपेटामा परेकी शिनावात्राले अडियो लिकप्रति क्षमायाचना गरेकी छन् र उक्त संवादलाई ‘सामान्य कूटनीतिक वार्ता’को शैलीमा भएको दाबी गरेकी छन्।

तर परिस्थिति यत्तिमा रोकिएको छैन। बुधबार प्रधानमन्त्रीको गठबन्धन सरकारको प्रमुख साझेदार पार्टी भुमजाइथाईले सरकार छाड्ने घोषणा गरेपछि स्थिति अझै जटिल बनेको छ। यसपछि प्रधानमन्त्रीको पार्टी प्यू थाई बहुमत गुमाउने नजिक पुगेको छ। गठबन्धनका अन्य दुई दलले पनि बिहीबारपछि थप निर्णय लिने बताइएका छन्।

हुन सेनले अडियो संवाद ८० जना नेताहरूसँग साझा गरेका थिए र तीमध्ये एकजनाले उक्त संवाद लिक गरेको बताएका छन्। पछि उनले १७ मिनेट लामो सम्पूर्ण फोन वार्ता फेसबुकमा सार्वजनिक गरेका थिए।

थाई शिनावात्रा परिवार र कम्बोडियाका हुन सेन परिवारबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। हुन सेन र शिनावात्राका पिता तथा पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रा नजिकका मित्र हुन्।

स्रोत: BBC

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ३ : ०३ बजे