धरान, मोरङ — धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघाबीचको विवाद चर्किँदा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया प्रभावित भएको छ।
श्रमदानको नाममा गरिएको कामको हाजिरी देखाएर बजेट माग गरिएको रकम उपप्रमुख बेघाले रोकेपछि विवाद उत्कर्षमा पुगेको हो। मंगलबार उपमहानगरपालिका परिसरमै मेयर र उपमेयरबीच भनाभन भएको थियो।
यसअघि सोमबार मेयर साम्पाङ समर्थकहरूले उपप्रमुख बेघामाथि हातपातको प्रयास गरेका थिए। त्यसको भोलिपल्ट मंगलबार पुनः उपप्रमुखको कार्यकक्ष घेराउ गरिएको थियो। घटनास्थलमा नेकपा (माओवादी केन्द्र) धरान नगर अध्यक्ष उद्धव लिम्बू नेतृत्वका कार्यकर्ता पनि पुगेपछि दुई पक्षबीच वादविवाद भएको थियो।
बेघाले नगरपालिकाका डोजर तथा स्काभेटरको प्रयोगमा अनियमितता भएको भन्दै केही दिनदेखि चाबी रोक्दै आएका थिए। उनका अनुसार ती सवारी साधनको चाबी नगर प्रमुख, उपप्रमुख र कार्यालय स्टोरमा राखिएको छ। मेयर पक्षले जबरजस्ती चाबी लिन खोजेपछि विवाद भएको हो।
स्थिति तनावपूर्ण बन्दा इलाका प्रहरी कार्यालय धरानको टोली तत्कालै घटनास्थल पुगेको थियो। सामाजिक सञ्जालमार्फत विवादको प्रत्यक्ष प्रसारण भएपछि नगरपालिका परिसरमा भीड समेत जम्मा भएको थियो। प्रहरीले अवस्था नियन्त्रणमा ल्याएको छ।
विवाद चुलिएसँगै उपमहानगरपालिकाको बजेट निर्माण कार्य प्रभावित भएको छ।
प्रतिक्रिया