काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको र घुस लिएको दुई फरक घटनामा संलग्न ५ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
सप्तरीस्थित तिलाठी कोईलाडी गाउँपालिकामा सव-इन्जिनियर (प्राविधिक सहायक) पदमा कार्यरत दिपेन्द्र कुमार झाले त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी करार नियुक्ति लिएको उजुरीका आधारमा अनुसन्धान गर्दा प्रमाणपत्रहरू नक्कली भएको पुष्टि भएको हो।
उनले Diploma in Civil Engineering को नक्कली Academic Transcript र Character Certificate पेश गरी ओहदा, सेवा र सुविधा लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो।
त्यस्तै, बाँकेको मालपोत कार्यालय, कोहलपुरमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेले जग्गा मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु २०,००० घुस मागेको र लेखापढी व्यवसायी शान्ति पुनमार्फत सो घुस लिएर रेस्टुरेन्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा पक्राउ परेका थिए।
अनुसन्धानमा खरिदार रतनबहादुर जिसी समेतको संलग्नता भेटिएपछि चारै जनामाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) र ३(२) बमोजिम कैद र बिगो बराबर जरिवाना माग गर्दै आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारले दुवै मुद्दामा संलग्न व्यक्तिहरूले राष्ट्रसेवामा रही गैरकानुनी लाभ लिएको पुष्टि भएको जनाएको छ।
प्रतिक्रिया