काठमाडौं । नेपाल पिएचडी एशोसिएशन (एनपिए) का अध्यक्ष डा.सुनिल बाबु श्रेष्ठले नेपालमा बढ्दो बेरोजगारीका कारण युवाहरू ठूलो संख्यामा विदेश पलायन भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय बजेट आर्थिक वर्ष २०८२-८३ देशको आर्थिक सुधारका लागि अवसर र चुनौतीहरु’ विषयक कार्यक्रममा बोल्दै डा.श्रेष्ठले नेपालको वर्तमान आर्थिक अवस्थालाई चिन्ताजनक भन्दै आन्तरिक उत्पादन घट्दो, पूँजीगत खर्च न्यून र उद्यमशीलता कमजोर भएको उल्लेख गरेका हुन् ।
‘नेपालको अर्थतन्त्र हामी सबैलाई थाहा छँदै छ । बेरोजगारी बढ्दो छ, युवाहरू विदेश पलायन भइरहेका छन्, ’उनले भने, ‘आन्तरिक उत्पादन खस्किँदै गएको छ । पूँजीगत खर्च एकदमै न्यून छ । अब उद्यमशीलता र उत्पादनमा ध्यान दिन जरुरी छ ।’
डा. श्रेष्ठले आर्थिक सुधारको लागि आधुनिक प्रविधिको उपयोग, कृषि, जलविद्युत र उद्योग क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याए ।
‘आर्थिक विकास गर्दै गरिबी निवारण गर्नुपर्ने अहिलेको आवश्यकता हो,’ उनले भने, ‘प्रविधिको प्रयोगबाट आर्थिक दक्षता हासिल गर्नुपर्छ । प्राथमिकताका क्षेत्रमा ठोस योजना बनाइ कार्यान्वयन गर्नु अहिलेको समयको माग हो ।’
प्रतिक्रिया