Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकको नेतृत्वमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा ४ अर्ब ८५ करोडको लगानी


३० जेष्ठ २०८२, शुक्रबार  

92
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको ३१.९२ मेगावाट क्षमताको माथिल्लो मेवा खोला जलविद्युत् आयोजनामा लगानी सम्बन्धी वित्तीय सम्झौता सम्पन्न भएको छ।

आयोजनाको प्रवर्द्धक सौर्य होल्डिङ प्रा.लि. र ग्लोबल आइएमई बैंकबीच वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले आयोजनामा कुल ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ।

सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेस अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेस अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका थिए। कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थिति रहेको थियो।

बैंकका प्रमुख कार्यकारी रेग्मीले आयोजना तोकिएको समयमा सम्पन्न भई मुलुकको ऊर्जा उत्पादनमा योगदान पुग्ने र विद्युत् निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे।

६ अर्ब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कन्सोर्टियमले ७५ प्रतिशत ऋण लगानी गर्नेछ भने बाँकी २५ प्रतिशत पूँजी सौर्य होल्डिङले हकप्रद शेयरमार्फत जुटाउनेछ।

ग्लोबल आइएमई बैंक हालसम्म Global Finance को ‘बेष्ट बैंक अवार्ड २०२४’ र Euromoney को ‘Award for Excellence २०२४’ अन्तर्गत नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित भइसकेको छ। बैंकले मुलुकका सबै ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरी ३५२ शाखा, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

बैंकले नेपालभित्र मात्र नभई संयुक्त राज्य अमेरिका, बेलायत, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, खाडी मुलुकलगायतका विभिन्न देशबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  २ : ५४ बजे