Logo

Breaking News 1

बेलायतमा संचालित २० वर्ष पूरानो ‘नेपालयूके डटकम’ फेरि संचालनमा



लण्डन । ठिक बिस वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सुसूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको सामुदायिक वेबसाइटको प्रकाशन फेरि सुरु गरिएको छ। विभिन्न कारणले लामो समयदेखि निष्क्रिय रहेको उक्त प्लेटफर्म शुक्रबार (६ जुन २०२५)देखि औपचारिक रूपमा फेरि संचालनमा आएको छ ।

‘बेलायतमा बसोबास गर्ने नेपाली विद्यार्थी, परिवार र पेशाकर्मीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी एक भरपर्दो र प्रयोगकर्तामैत्री सूचना मंचको आवश्यकता लामो समयदेखि महसुस भइरहेको बेला ल्भउबगिप।अयm अब अझ बलियो, विस्तारित र उद्देश्यपूर्ण रूपमा पुनः सञ्चालनमा आएको हो,’ नेपालयुके डटकममा संस्थापक तथा संचालक कृष्ण भट्टले भने । आजको यो पुनः शुभारम्भले लामो समयदेखिको एक महत्वपूर्ण अभावलाई पुरा गर्ने उनले विश्वास व्यक्त गरे ।

बेलायतमा बसोबास गरिरहेका वा नेपालबाट आउन तयारी गरिरहेका नेपालीहरूका लागि विश्वसनीय जानकारी, व्यवहारिक सहयोग र समुदायको महसुस हुनेगरी सूचना र जानकारी एकै थलोबाट उपलब्ध गराउन उक्त अनलाइनले पुलको काम गर्ने उनले बताए । ‘अब यहाँ कसैले पनि एक्लो महसुस गर्नु पर्दैन, प्रश्न सोध्न, सहयोग खोज्न, वा समुदायसँग जोडिन सकिने छ,’ भट्टले भने ।

उक्त सामूदायिक पोर्टलमा आवास सम्बन्धीविवरण, संस्थागत डायरेक्टरी, दूतावास सम्पर्क, समाचार र कार्यक्रमहरूको सूचना, सबै एकै ठाउँमा उपलब्ध छन् । यसबाहेक उक्त पोर्टलमा बेलायतका विश्वविद्यालय र कलेजहरूको सूची, नेपाली परिवारहरूले उपलब्ध गराएका आवासहरूको विवर, नेपाली व्यवसायहरूमा रोजगारीको अवसर, कानुनी सल्लाह, भिसा मार्गदर्शन र शैक्षिक सहयोग सम्बन्धी जानकारी उपलब्ध छन् ।

यसैगरी विदेशमा बसाई सुरु गर्दा आउने मानसिक तनाव, एक्लोपन, चिन्ता र आर्थिक समस्याहरूलाई बुझ्दै न्यूज पोर्टलले एक विशेष सूचना सेवा पनि सुरु गरेको छ। उक्त सेवाका लागि पोर्टलमा सम्पर्क नम्बर र समय उपलब्ध छ । उक्त फोनमार्फत सोधिएका प्रश्नहरु र प्रश्नकर्ताको विवरण गोप्य राखिने र व्यापारिक उद्देश्यले ती विवरण तेस्रो पक्षलाई उपलब्ध नगराइने भट्टले जनाए ।

यस बाहेक बेलायतमा रहेका भूतपूर्व गोर्खा, तिनका परिवार तथा नेपाली समुदायका प्रेरणादायी कथा र समाचारहरू, सामुदायिक कार्यक्रम र सांस्कृतिक पर्वहरूको जानकारी साथै आफ्ना सेवाहरू प्रचार गर्ने, व्यवसाय प्रवद्र्धन गर्ने र अवसर बाँड्ने स्थानको रुपमा पनि उक्त पोर्टल रहने जनाइएको छ ।

‘चाहे तपाईं पहिलो पटक अध्ययनका लागि आउँदै हुनुहुन्छ, रोजगारीको खोजीमा हुनुहुन्छ, वा दोस्रो पुस्ताका नेपाली–बेलायती नागरिक हुनुहुन्छ पोर्टल तपाईंको सन्देश, समर्थन र सम्पर्कको डिजिटल केन्द्र हो । समुदायद्वारा निर्मित, समुदायकै लागि पुस्ता र सिमाना पार गर्ने नेपालीहरूको लागि एक साझा डिजिटल थलोको विकास गर्न तपाईंहरु सबैको सुझाव,सल्लाह र सहयोगको हामीले अपेक्षा गरेका छौं,’ भट्टले भने।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  १२ : २६ बजे