काठमाडौँ । ग्लोबल आईएमई बैंकले विश्व वातावरण दिवस (जेठ २२) को अवसरमा देशभर वृक्षरोपण अभियान सञ्चालन गरेको छ। बैंकका अनुसार अभियान अन्तर्गत देशभरका ३० भन्दा बढी जिल्लामा ११ हजारभन्दा बढी विरुवा रोपिएको छ।
बैंकले वातावरणीय संरक्षणमा योगदान पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गरेको हो। वृक्षरोपण लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका विभिन्न स्थानमा सम्पन्न भएको हो। स्थानीय कर्मचारी र समुदायको सहभागितामा कार्यक्रम गरिएको बैंकले जनाएको छ।
मुख्य कार्यक्रम ललितपुरस्थित वन तथा वातावरण कार्यालय परिसरमा सम्पन्न भएको थियो, जहाँ झण्डै ३०० विरुवा रोपिएको थियो। साथै दाङको लमही, नेपालगञ्ज, सुर्खेत, धनगढी, बुटवल, पोखरा, जनकपुर, धनकुटा, विराटनगरलगायत स्थानमा समेत वृक्षरोपण गरिएको हो।
कार्यक्रम सफल बनाउन बैंकले स्थानीय सरकारी निकाय, उपभोक्ता समूह, सामाजिक संघसंस्था तथा शैक्षिक संस्थाहरूसँग सहकार्य गरेको थियो। बैंकले वृक्षरोपणले वातावरण संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा दीर्घकालीन असर पार्ने विश्वास व्यक्त गरेको छ।
ग्लोबल आईएमई बैंकले यसअघि पनि वातावरणीय तथा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ। यो अभियान हरित बैंकिङ रणनीतिअन्तर्गतको एक हिस्सा भएको बैंकको भनाइ छ। हाल बैंकले ४३४ शाखा, ३६८ एटीएम र विभिन्न डिजिटल माध्यममार्फत सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया