Logo

मौसम

इतिहासमै छिटो मनसुन नेपाल प्रवेश


१६ जेष्ठ २०८२, शुक्रबार  

138
Shares

काठमाडौं । यो वर्षको मनसुन नेपालमा इतिहासमै सबैभन्दा छिटो प्रवेश गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बिहीबार (जेठ १५) राति पूर्वी क्षेत्र हुँदै नेपाल प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा फैलिएको छ।

महाशाखाले शुक्रबार (जेठ १६) जारी गरेको बुलेटिनमा कोसी प्रदेशका धेरैजसो मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको उल्लेख गरिएको छ।

यस वर्ष मनसुन औसत मिति (जुन १३) भन्दा १५ दिन अगावै भित्रिएको हो। अघिल्लो वर्ष जेठ २८ गते (जुन १०) मनसुन प्रवेश गरेको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार तथ्यांक राख्न थालिएयता सन् १९९६ मा मे ३१ मा मनसुन प्रवेश गरेको रेकर्ड थियो, तर यसपालिको मिति त्यसभन्दा अगाडि परेको हो। सन् १९६८ देखि विभागले मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक संकलन गर्न थालेको हो।

सबैभन्दा ढिलो मनसुन सन् १९८२ मा जुन २७ मा प्रवेश गरेको थियो।

महाशाखाले देशभर मनसुन फैलन अझै केही समय लाग्ने जनाएको छ। हाल देशको बाँकी भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ।

विभागले यस वर्षको मनसुन ऋतु (जेठ १८ देखि असोज १४) मा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ। तापक्रम पनि सरदरभन्दा माथि रहने सम्भावना छ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ५ : १० बजे