काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अनिवार्य नगद मौज्दात (CRR) को न्यूनतम ९० प्रतिशत भाग दैनिक रूपमा राष्ट्र बैंकमा राख्नुपर्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ।
राष्ट्र बैंकले ‘एकीकृत निर्देशन २०८१’ संशोधन गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूले कुल निक्षेप दायित्वको चार प्रतिशत बराबरको नगद मौज्दात राख्नुपर्ने पूर्ववर्ती व्यवस्थामा परिमार्जन गरेको हो। संशोधित निर्देशिका अनुसार आगामी २०८२ साल जेठ १८ गतेदेखि उक्त चार प्रतिशतको कम्तीमा ९० प्रतिशत हिस्सा दैनिक रूपमा राष्ट्र बैंकमा राख्नुपर्नेछ।
यसअघि बैंकहरूले अनिवार्य नगद मौज्दातको केवल ७० प्रतिशत भाग मात्रै दैनिक रूपमा राख्नुपर्ने व्यवस्था थियो। उदाहरणस्वरूप, बैंकले १०० रुपैयाँ निक्षेप संकलन गर्दा पूर्व व्यवस्था अनुसार २ रुपैयाँ ८० पैसा राख्दा पुग्थ्यो भने अब ३ रुपैयाँ ६० पैसा दैनिक रूपमा राख्नुपर्नेछ। निर्धारित मात्रा नपुगेमा राष्ट्र बैंकले कारबाही गर्नेछ।
राष्ट्र बैंकको भनाइ अनुसार यो परिवर्तनले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन सजिलो बनाउनेछ। बैंकहरूलाई आकस्मिक निक्षेप फिर्ता मागमा समेत सहजता हुनेछ, यद्यपि उनीहरूले उक्त मौज्दात रकममा कुनै ब्याज पाउने छैनन्।
प्रतिक्रिया