Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा नयाँ योजना अन्तर्गत ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका सीईओ सुवास सापकोटाले संयुक्तरूपमा उक्त कार्डको अनावरण गरेका हुन्।

नयाँ स्काई क्लब कार्डमार्फत ग्राहकहरूले यती एअरलाइन्सको हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्मको छुट पाउनेछन्। साथै, कार्डबाट पहिलोपटक टिकट खरिद गर्दा शतप्रतिशत क्यासब्याक स्वरूप निःशुल्क टिकटको सुविधा दिइनेछ।

यस कार्डमार्फत प्रयोगकर्ताहरूले १०० बोनस प्वाइन्ट प्राप्त गर्नेछन्, जुन विभिन्न छुट तथा सेवा सुविधाका लागि प्रयोग गर्न सकिने बताइएको छ। साथै, कार्ड प्रयोग गरी POS वा ई–कम माध्यमबाट हुने प्रत्येक १०० रुपैयाँको कारोबारमा १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ।

यात्राका क्रममा कार्डवाहकहरूले चेक–इन र बोर्डिङमा प्राथमिकता पाइनेछ भने ५ केजीसम्म अतिरिक्त सामान लैजाने सुविधा पनि उपलब्ध गराइनेछ।

कार्यक्रममा सीईओ रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको सहकार्यले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने र ग्राहक–मैत्री सेवा विस्तारमा सहयोग पुग्ने बताए। यती एअरलाइन्सका सीईओ सापकोटाले बैंक र एअरलाइन्स दुवैका ग्राहकहरूलाई यो सहकार्य लाभदायक हुने बताए।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र यती एअरलाइन्सका अकाउन्टेबल म्यानेजर तथा चिफ बिजनेस अफिसर युवराज विष्टले पनि सहकार्यप्रति सन्तुष्टि जनाउँदै भविष्यमा थप सहकार्यको आशा व्यक्त गरे।

ग्लोबल आइएमई बैंक हाल ७७ वटै जिल्लामा सेवा विस्तार गरी ३५४ शाखा, ३८५ एटीएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले २०२४ को ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ तथा ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको उपाधि प्राप्त गरिसकेको छ।

यती एअरलाइन्सले विगत २६ वर्षदेखि आन्तरिक उडान सेवा दिँदै आइरहेको छ। हाल कम्पनीले ७ वटा एटीआर विमानमार्फत देशभर वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिइरहेको जनाएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ८ : १५ बजे