Logo

समाचार

 ग्वार्को फ्लाई ओभर असार १ गतेबाट संचालनमा आउने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को फ्लाई ओभरको अनुगमन गरेका छन् । आइतबार उनले ग्वार्को फ्लाई ओभरको अवस्थाबारे स्थलगत अनुगमन गरेका हुन् ।

सोही क्रममा उनले ग्वार्को फ्लाई ओभरको काम जेठको अन्तिमसम्ममा सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने तयारीमा रहेको बताए । 

उनले भने, ‘ फ्लाई ओभरको काम कर्मचारीहरुले पनि हेर्नुपर्ने थियो । तर सुरुमा समस्या केही देखिएन् । पछि गएर समस्या देखियो । त्यसैले पुनः तलैदेखि बनाउनु पर्ने अवस्था आयो । जसका कारण ढिला भयो । ढिलै भएपनि परिणाम राम्रै आएको छ । अब जेठको अन्तिमसम्ममा काम सम्पन्न गरेर असारको १ गतेदेखि सञ्चालन गर्ने हाम्रो तयारी छ ।’

निर्माण कम्पनीले जेठभित्रै दुवैतर्फको ¥याम्प अर्थात फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचनामा कालोपत्रे सकिने र लगत्तै गाडी गुडाउने तयारी  गरेको छ ।

ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले फ्लाइओभरको कोटेश्वरतर्फको ¥याम्पमा बिहीबारदेखि नै प्राइम कोट बिछ्याउन सुरु गरेको छ । सातदोबाटोतर्फको ¥याम्पमा भने ग्राभेल गरेर ‘बेस कोर्स’ बनाउने काम भइरहेको छ । ओभरपास सम्पन्न गर्न १७ करोड ६ लाख ८८ हजारमा ठेक्का लागेको हो ।

सम्झौताअनुसार तोकिएको म्याद २०८० फागुन १२ मा सकिएको थियो । त्यसपछि म्याद थप गरेर २०८१ पुस ८ सम्म कायम गरिएको थियो । दुई वर्षमा निर्माण पूरा गर्ने गरी कम्पनीसँग २०७८ फागुन १२ मा सम्झौता भएको थियो ।

यस्तै, मन्त्री दाहालले प्राकृतिक विपद्को लागि मन्त्रालय पूर्ण रुपमा तयार रहेको पनि बताए । उनले भने, ‘प्रकृतिसँग सम्झौता गरेर अगाडि बढ्नुपर्छ । ठूलै वर्षा र बाढी आउने कुरा हाम्रो मुद्दा होइन तर हामी तयारमा छौं । त्यस्तो समस्या आयो भने तुरुन्तै सडकलाई खुला गर्नेगरि अगाडि बढ्ने र नरोकिने अवस्था सिर्जना गर्ने गरि काम गर्छौ ।’

वीपि राजमार्गको काम तोकेको समयभित्र पूरा गर्ने हिसाबमा अगाडि बढेको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १२ : ३४ बजे