Logo

समाचार

रमणीय बाम्ती, तर छैनन् पर्यटक,सुनसान छ बजार



रामेछाप । रामेछापको सुन्दर बजार बाम्ती भण्डार प्राकृतिक हिसाबले धनी छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीको बाम्ती उपत्यका अति सुन्दर र मनोरम छ ।

बिहान उठ्ने बित्तिकै हिमाल देखिन्छ, प्राकृतिक वनस्पति, जङ्गल अनि मिलेको फाँट बाम्ती हेर्न पनि रमाइलो छ । तर पनि यतिबेला बाम्तीभण्डार सुनसान छ ।

कुनै बेला पर्यटकहरू खुम्बु क्षेत्र प्रवेश गर्ने प्रमुख नाकाको रूपमा रहेको बाम्तीभण्डार अहिले सुनसान छ । दोलखाको जिरीबाट बाम्ती हुँदै पैदल यात्रा गरेर सोलुखुम्बु छिर्ने रुट कायम भएको समयमा बाम्तिमा जता हेर्यो त्यतै विदेशी पर्यटक देखिन्थे, भेटिन्थे । होटेलहरू भिडभाड हुन्थे । होटेलमा पर्यटकहरू नअटाएपछि बाहिरै टेन्ट गाडेर बस्थे । बिहानदेखि राति अबेरसम्म बाम्तीमा विदेशी पर्यटकको लर्को हुन्थ्यो ।

अहिले सोलुखुम्बु जाने पर्यटकहरू रामेछापको मन्थलीबाट सोझै प्लेन चढेर र बसमा जानेहरू पनि सोझै सोलुको सदरमुकाम सल्लेरीसम्म पुग्न लागेपछि बाम्ती लगायतका पर्यटक हिँड्ने रुटहरू सुनसान छन् । ‘पहिला पर्यटकहरूले बाटो पाई नसक्नु हुन्थ्यो, होटेलमा बस्ने ठाउँ पाउँदैन थिए, अहिले बिहानदेखि बेलुकासम्म सुनसान छ, व्यापार व्यवसाय ठप्प छ,’ स्थानीय ज्ञानबहादुर क्षेत्रीले भने ।

बाम्तीको जस्तै हालत छ सो रुटका पुराना चल्तीका बजार शिवालय, देउराली, किञ्जा लगायतको पनि । अहिले न होटेलमा बास बस्ने मान्छे छन् न बजारमा किनमेल गर्ने मान्छे छन् ।

गाउँ गाउँमा सडक पुगेपछि स्थानीय उपभोग्य सामान पनि गाउँमा नै पुग्न लागेका छन् । त्यसैले बजारमा किनमेल गर्ने स्थानीय उपभोक्ता पनि न्यून छन् । ‘उही बजारका र बजार क्षेत्रका मानिसहरूको किनमेल गर्ने थलो बनेको छ बजार, बसमा आउने र फाट्टफुट्ट बाम्ती घुम्न आउने मानिसहरूको लागि बास बस्ने ठाउँ बनेका छन् होटेलहरू,’ क्षेत्रीले भने ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  १२ : ४४ बजे