काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीद्वारा दायर निवेदन सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ।
सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध दायर गरिएको ७३ नम्बर निवेदन यसअघि सात पटकसम्म ‘हेर्न नमिल्ने’ इजलासमा परेपछि सुनुवाइ अगाडि बढ्न सकेको थिएन। आइतबार मात्र न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उक्त निवेदन ‘हेर्न मिल्ने’ इजलासमा राखेर सुनुवाइ गर्न आदेश दिएको थियो।
यसै क्रममा सोमबार निवेदन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा पुगे पनि मिसिल अध्ययनका क्रममा पाण्डेका नजिकका आफन्त वकिलको संलग्नता देखिएपछि पुनः ‘हेर्न नमिल्ने’मा परेको थियो।
रवि लामिछानेकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदन पनि अघिल्लो हप्ता लगातार पालो नआएपछि आइतबारबाट सुनुवाइ अगाडि बढाउन मिल्ने इजलासमा राख्न आदेश भएको हो। सो निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दर्ता आदेश दिएको थियो।
यसअघि पनि न्यायाधीश पोखरेलले लामिछानेको नागरिकता मुद्दामा वकालत गरेका कारण ‘हेर्न नमिल्ने’ भएको थियो। लामिछानेलाई रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत तुलसीपुरको आदेशअनुसार उनी अहिले पुर्पक्ष थुनामा छन्। त्यस्तै, जोशी पनि जिल्ला अदालतकै आदेशमा थुनामा रहेका छन्।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया