Logo

समाचार

फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न इप्पान अध्यक्षको आग्रह



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले फ्रान्सेली लगानीकर्तालाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

पेरिसमा आयोजित फ्रान्स–नेपाल जलविद्युत लगानी सम्मेलनमा बोल्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए। “बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न सकिन्छ,” उनले भने।

कार्कीका अनुसार १९९९ मा मात्र २५० मेगावाट विद्युत उत्पादन गर्दै आएको नेपाल आज ३,५०० मेगावाट उत्पादन क्षमतामा पुगेको छ, जसको ८०% निजी क्षेत्रको योगदान हो।

उनले त्रिशूली नदीको माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट) आयोजनामा फ्रान्स र IFC बाट ४५३ मिलियन डलर ऋण सहयोगको स्मरण गर्दै फ्रान्ससँगको सहकार्यलाई उल्लेख गरे।

सन् २०२५ मा सुरु भएको ‘हाइड्रोनेपाल’ परियोजना अन्तर्गत कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिबाट नदी व्यवस्थापन र जलवायु पूर्वानुमानमा सहयोग भइरहेको पनि कार्कीले जानकारी दिए।

सरकारको २०३५ सम्ममा २८,५०० मेगावाट विद्युत उत्पादन लक्ष्यलाई ध्यानमा राख्दै उनले नेपालले प्रत्यक्ष विदेशी लगानी (FDI) स्वागत गर्न तयार रहेको जनाए।

लगानीका लागि B2B, PPP मोडलमा काम गर्न सकिने, साथै स्मार्ट ग्रिड, कार्बन ट्रेड, डिजिटल पूर्वानुमानजस्ता क्षेत्रमा अपार सम्भावना रहेको उनको भनाइ थियो।

आगामी असोज १–२ गते काठमाडौंबाट आयोजना हुने ‘पावर समिट २०२५’ मा सहभागिताको निमन्त्रणा दिँदै कार्कीले नेपाललाई ऊर्जा आपूर्तिकर्ता राष्ट्र बनाउने लक्ष्यमा सहयोग गर्न आह्वान गरे।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  २ : ४६ बजे