काठमाडौँ ।सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८१ को दफा १७(क) अनुसार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम कम्पनीका सञ्चालक समिति सदस्यहरू, आधारभूत सेयरधनीहरू, तथा विभागीय प्रमुखहरूका लागि आयोजित गरिएको हो। काठमाडौँको याक एण्ड यती होटेलमा सम्पन्न प्रशिक्षणमा बीमा प्राधिकरणका निर्देशक शाम्ब राज लामिछाने तथा उप–निर्देशक सविता थापाले प्रशिक्षण दिनुभएको थियो।
प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, नियमावली र निर्देशन अनुसार प्रभावकारी कार्यान्वयन, नीति निर्माण, कार्यविधि विकास, नियन्त्रण प्रणालीको सुदृढीकरण, तथा जनशक्ति र स्रोत व्यवस्थापन जस्ता विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको समापनमा कम्पनीका अध्यक्ष रतन लाल केडियाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका आधारमा निर्माण गरिएका ऐन र नियमावलीअनुसार कम्पनीले आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्व स्पष्ट पार्दै कम्पनीका सबै तहमा निर्देशनको अक्षरसः पालना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कुनै कसर बाँकी नराखिने स्पष्ट गर्नुभयो।
नेपाल सरकारले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको सन्दर्भमा प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धिकरण निवारण दिवस’ मनाउने निर्णय समेत गरेको उल्लेखनीय छ।
प्रतिक्रिया