Logo

मुख्य समाचार

भ्रष्टाचार मुद्दामा सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा सव-इन्जिनियर पदमा कार्यरत कुमार पौड्यालविरुद्ध भ्रष्टाचारको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार पौड्यालले आर्थिक वर्ष २०५१ सालदेखि २०८० सालसम्म आफ्नो वैध आयभन्दा अत्यधिक सम्पत्ति आर्जन गरेका छन्। अनुसन्धानमा उनका कुल वैध आय स्रोतबाट प्राप्त रकम रु २ करोड ५८ लाख ९७ हजार ३२४ रहेको देखिएको छ भने सो अवधिमा उनले खर्च गरेको रकम रु ६ करोड २२ लाख १८ हजार ५३२ पुगेको छ। खर्च र आयबीचको फरक रु ३ करोड ६३ लाख २१ हजार २०७ रहेको आयोगले जनाएको छ।

अवैध रूपमा आर्जन गरेको सम्पत्तिलाई फौजदारी अपराधको रुपमा लिँदै आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना र गैरकानुनी सम्पत्ति जफतको मागसहित अदालतमा मुद्दा दायर गरेको हो।

साथै, पौड्यालले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिको केही हिस्सा आफ्नो श्रीमती विष्णु मैया पौड्यालको नाममा राखेको भन्दै उनलाई समेत प्रतिवादी बनाइएको छ। आयोगले विष्णु मैया पौड्यालविरुद्ध सम्पत्ति जफतको प्रयोजनका लागि मुद्दा दायर गरिएको जनाएको छ।

प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अख्तियारले सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूबाट हुने अवैध सम्पत्ति आर्जनजस्ता कार्यहरूविरुद्ध कडाइका साथ अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइरहेको छ।”

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ३५ बजे