काठमाडौं । आज मे अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । ‘लेडी विथ द ल्याम्प’ को नामले विश्वप्रसिद्ध आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस संसारभर मनाइन्छ ।
’हाम्रा नर्स, हाम्रो भविष्यः नर्सहरूको संरक्षण गरौं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मूल नाराकासाथ नर्सिङ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजनागरी मनाइएको छ ।
नेपालमा नर्स पेसाप्रति आकर्षण भएपनि स्वदेशमै रोजगारीको अवसर नहुँदा विदेशिनेको संख्या बढ्दै गएको पाइन्छ । नेपालमा नर्सिङ पेसाप्रतिको आकर्षण बढ्दो क्रममा रहेको भएतापनि स्वदेशमा नर्सहरुलाई टिकाउने विषय चुनौतीको रुपमा खडा भएको छ ।
कुराकानीमा पाटन अस्पतालकी नर्सिङ निर्देशक शान्त डंगोल श्रेष्ठले सरकारले नर्सहरुलाई नेपालमा राम्रो सेवा सुविधा दिलाउन नसक्दा विदेशीने लहर बढेको बताइन् ।
अबको १०–१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखिरहेकामा चिन्ता व्यक्त गर्दै उनले यसबारे सरकार र स्टेक होल्डरहरुले सोच्नुपर्ने अवस्था आएको औंल्याइन् ।
उनले भनिन्,‘नेपालमा धेरै नर्सिङ कलेजहरु खुलेका छन् । त्यहाबाट धेरै नर्सहरु उत्पादन हुन्छन् । तर उनीहरुलाई रोजगारीको अवसर छैन् । ग्यारेन्टी छैन् । रोजगारीका अवसर सिर्जना गर्न सरकारले गर्नुपर्ने कामहरु गर्न सकिरहेको छैन् । उनीहरुलाई नेपालमा नै काम दिलाउन सकिरहेको छैन् । त्यसकारण नर्सहरु नेपाल बस्नु भन्दा पनि बाहिर जान रुचाउने गर्दछन् । उनीहरुको उद्देश्य भनेको नेपालमा पढ्ने विदेश गएर कमाउने रहेको छ । स्थायी रोजगारी पाएकाहरु पनि विदेश गयो भने आर्थिक रुपमा सुधार गर्न सकिन्छ, परिवारलाई पाल्न सकिन्छ भन्ने खालको सोच राख्न थालिसकेका छन् । अब १०–१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखिदैछ । यसबारे सरकार र स्टेक होल्डरहरुले पनि सोच्नुपर्छ ।’
त्यस्तै उनका अनुसार नर्सहरुको कथा, व्यथा र पीडा बुझ्ने भनेको नर्सले नै हो तर सरकारको नीति निर्माण तहमा नर्सिङ नेतृत्व पुगेको छैन् ।
जति पनि नेतृत्वमा पुगेको छन् सबै चिकित्सकहरु मात्रै भएको कारण डाक्टरहरुले नर्सको कुरा बुझ्न नसक्ने उनी बताउँछिन् ।
सरकारले नीति निर्माण गर्ने ठाँउमा नर्सहरुको नेतृत्वलाई लानुपर्ने माग गर्दै उनले नर्सिङ क्षेत्रमा पनि राजनीतिकरण भइरहेको आरोप समेत लगाइन् ।
पार्टीगत भन्दापनि नर्सहरु एकताबद्ध भएर जाने नीति सरकारले बनाउनुपर्ने उनको धारणा छ । नर्सहरुको न्यूनतम तलब सरकारले तोकेको अनुसार भयो भने नर्सहरु नेपालमा नै बस्ने अवस्था सिर्जना हुनसक्ने उनको ठम्याइ छ ।
उनले भनिन्,‘यो वा त्यो पार्टी नभनिकन नर्सहरु एकताबद्ध भएर जाने नीति सरकारले बनाउनुपर्छ । नर्सिङ संघ, परिषद् सबै ठाँउमा नर्सहरुको पहुँच भनेको स्वतन्त्र हुनुपर्छ । नर्सलाई काम दिने अस्पताल, संस्थाहरुले न्यूनतम तलब दिनुपर्छ र सरकारले त्यसलाई लागू गराउन सक्नुपर्छ । नर्सहरुको न्यूनतम तलब सरकारले तोकेको अनुसार भयो भने नर्सहरु यही बस्ने अवस्था सिर्जना हुनसक्छ । आफ्नो मान्छे होइन राम्रो मान्छे छनोट गर्नुपर्यो ।’
उनले २४ घण्टा नै बिरामीको सेवामा बसेका नर्सहरुले थुप्रै चुनौती र पीडाहरु खेप्न परेको दुखेसो गरिन् । नर्स पेशामा आउने वित्तिकै नै पीडा सुरु हुने भन्दै उनले त्यो पीडालाई आफ्नो शक्ति बनाएर अगाडि बढ्नुपर्ने सुनाइन् ।
त्यस्तै उनले ‘एक विद्यालय एक नर्स’ भन्ने नीतिले एकदमै राम्रो भइरहेको सुनाइन । यसमा विद्यार्थीसँगै अभिभावकहरुले पनि शिक्षा लिने मौका पाएको बताइन् ।
यसमा थप्दै उनले भनिन्,‘एक नर्स भन्ने नीतिले एकदमै राम्रो भइरहेको छ । यसमा विद्यार्थीसँगै अभिभावकहरुले पनि शिक्षा लिने मौका पाएका छन् । पहिले यौन र मानसिक स्वास्थ्यबारे चर्चा हुने गरेको थिएन । अहिले हुने गरेको छ त्यसकारण यो नीति एकदमै राम्रो छ ।’
डाक्टरहरु आएर के औषधी दिने हो लेख्न निर्देशन दिने तर २४ घण्टा बिरामीसँग बसेर काम गर्ने नर्स भएको कारण बिरामीलाई धेरै बुझ्ने भनेको नै नर्स नै हुने गरेको दाबी गरिन् ।
त्यस्तै पाटन अस्पतालकी नर्सिङ सहायक निर्देशक गीता किलम्बूले पनि नर्सिङ क्षेत्रमा समस्या भनेको नै नेपालमा पढ्ने र विदेशिने लहर रहेको बताइन् । पढ्दा देशको लगानी पर्ने तर त्यसको आउटपुट भने विदेशमा देखिने गरेका कारण देशको र स्वास्थ्य संस्थाको अर्थतन्त्रमा पनि घाटा भइरहेको बताइन् ।
उनले भनिन्,‘नर्सिङ क्षेत्रमा समस्या भनेको नै नेपालमा पढ्ने त्यसपछि विदेशिने लहर छ । नेपाल सरकारको आफ्नो लगानी गर्छ तर त्यसको आउटपुट भने विदेशमा देखिने गरेको छ । त्यो भनेको देशको र संस्थाको अर्थतन्त्रको घाटा हो । एकदमै पढ्न सक्नेहरुले सरकारी जागिरमा नाम निकाल्छन् । तर कालान्तरमा उहाँहरुपनि विदेशिनु हुन्छ । त्यसैले यसमा पनि सरकारले विचार गर्नुपर्छ ।’
राज्यको पहुँच र नीति निर्माण तहमा नर्सहरुको प्रतिनिधित्व हुनुपर्ने उनको बुझाइ छ । ‘विभिन्न पहुँचमा नर्स पुगेभने नर्सको मूल्य बुझ्छन् जस्तो लाग्छ । त्यसैले नर्सहरुको लागि पनि कोर्ष खुल्नुपर्छ माथिल्लो स्तरमा जानका लागि । र उहाँहरुको लागि अवसर प्रदान गरिनुपर्छ । नर्सहरुलाई के कस्तो भइरहेको छ भन्नेकुरा नर्सलाई बाहेक अरुलाई थाहा हुँदैन् । त्यसैले माथिल्लो तहसम्म पनि नर्सलाई मौका दिनुपर्छ,’ उनले थपिन् ।
नेपालका नर्स विदेशीने कारण अर्थतन्त्रमा असर पर्ने र विरामी हेरचाह पनि राम्रोसँग पाउँन नसक्ने अवस्था निर्माण भएको उनी बताउँछिन् ।
उनले नर्सहरुलाई कसरी नेपाल रोक्ने भन्ने विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने आवश्यकता औल्याइन् । अबको १० वर्षमा विरामीको हेरचाह गर्नको लागि नर्स नहोलान् भन्ने पीर परेको उनले सुनाइन् ।
उनले भनिन्,‘हामीले नर्स उत्पादन गर्यौं तर धेरैले बाहिर रोज्न थाले । यसले अर्थतन्त्र र विरामीको हेरचाहमा असर पारेको छ । एक दुई वर्ष काम गरेका त विदेश गइरहेका थिए अहिले त २० वर्ष काम गरिसकेकाले पनि विदेश रोज्न थाले । त्यसलाई सरकारले रोक्न सक्नुपर्छ । तालीम दिने वा पारिश्रमिक बढाउने के गर्ने हो सोच्नुपर्छ । यसमा अनुसन्धान चाँही गर्न आवश्यक छ ।’
अनुभवी स्वास्थ्यकर्मीको हातमा पर्यो भने मर्न लागेको विरामी पनि बाँच्ने तर अनुभव नभएको हातमा पर्यो भने बाँच्ने विरामी पनि मर्न सक्ने भएकाले यसमा धेरै विचार पुर्याउनुपर्ने उनको भनाइ छ ।
यस्तै, पाटन अस्पतालकै अर्की नर्सिङ सहायक निर्देशक अनिता रोङगोङले अहिले नर्सिङ कलेजहरु बढेसँगै त्यही अनुसार प्रोडक्सनहरु बढेको बताइन् । कतिपय प्रोडक्सन भएपनि दक्षताको अभावले गर्दा नर्सहरुमा अलिकति हच्केको र आत्मविश्वास नभएको महशुस आफूलाई भएको उनले सुनाइन् ।
विदेशको आकर्षण, त्यहाँको बसाई सुविधा र दैनिक रुपमा चाहिने आवश्यकता पूरा गर्न नसक्ने अवस्था देखेर पनि विदेश जानेक्रम बढेको उनको भनाइ छ । आफ्नो पेशाप्रतिको इमान्दारिता कायम राख्नसक्ने मानिस कहिल्यै पैसाको पछि नलाग्ने भन्दै आफ्नो पेसाप्रति सन्तुष्टि भए कुनै प्रलोभनले नछुने उनको बुझाइ छ ।
प्रतिक्रिया