Logo

खेलकुद

जुम्ला–रारा म्याराथनमा ५९१ जना खेलाडी सहभागी हुने



मुगु । जुम्ला–रारा अल्ट्रा म्याराथनमा ५ सय ९१ जना खेलाडी सहभागी हुने भएका छन् । म्याराथनको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

वैशाख २७ गते शुक्रबारदेखि सुरु हुने ५१ किलोमिटर दुरीको जुम्ला–रारा म्याराथनको तयारी पूरा भएको बारे आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

म्याराथनमा देश–विदेशबाट गरि जम्मा ५९१ जना खेलाडी सहभागी हुने कर्णाली स्पोर्टस क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

अध्यक्ष शाहीका अनुसार पोल्याण्डका १, अमेरिकाका १, फ्रान्सका १, भारतका–२ जना खेलाडी सहभागी हुनेछन् । सबैभन्दा ठुलो ५१ किलोमिटर दुरीको प्रतियोगितामा ७४ जना खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै पाँच किमी दौडतर्फ कर्मचारी व्यापारीतर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी हुने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरि कूल पाँचसय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागी हुन नाम दर्ता गराएका छन् ।

पाँचथर, काठमान्डौ, नुवाकोट, चितवन, बाँके, सप्तरी १० वटा भन्दा बढी जिल्लाबाट सहभागी हुने भएका छन् । चार ठाउँमा चेकिङ प्वाइन्ट राखिएको छ ।

चेकिङ प्वाईन्ट–खाली पाटन, चौथा, डाव, चुचेमारा बेस क्याम्प, चुचेमारा टप चेकिङ प्वाईन्ट तोकिएको छ ।

साथै दविदत्त गणले स्वयमसेवकको रुपमा सहयोग गर्नेछ । म्याराथनका लागि अनुमानित २८ लाख खर्च लाग्ने देखिन्छ भने म्याराथनबाट बचेको रकमबाट कर्णाली स्पोर्टस क्लबको भवन निर्माणमा खर्च गरिने छ । धावक हरि बहादुर रोकायाले क्लबको भवन निर्माणका लागि निःशुल्क जग्गा दिएका छन ।

म्याराथनको उद्घाटन गर्न कर्णालीका मुुख्यमन्त्री यामलाल कँडेल आउने कुुरो भएपनि बजेट निर्माणको छलफल नजिकिएकाले नआउने भएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ५ : ५८ बजे