काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले हाल आफूमाथि चौतर्फी आक्रमण भइरहेको बताउँदै त्यसबाट विचलित नहुने स्पष्ट अडान व्यक्त गरेकी छन्। नेकपा (एमाले)ले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलेब्रेसन’ कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माणका लागि आफू निरन्तर क्रियाशील रहने बताइन्।
“हामी सबैले महसुस गर्न सक्छौँ, अहिले चौतर्फी आक्रमण भइरहेको छ,” उनले भनिन्, “तर जतिसुकै आक्रमण भए पनि विचलित हुने छैनौँ, रोकिने छैनौँ, थाक्ने छैनौँ।”
डंगोलले उपमेयर पदमा निर्वाचित भएपछि कुनै पनि दिन वा समय नहेरी इमान्दारितापूर्वक काम गरेको र जनतासँग नजिक भएर जिम्मेवारी पुरा गर्दै आएको बताइन्। यही कारणले चौतर्फी प्रशंसा प्राप्त भएको र त्यसैले केही व्यक्तिहरूलाई असहज बनाएको उनको दाबी छ।
“काम गरेको देख्दा पोल्नेहरूका लागि मेरो उपस्थितिले असहज स्थिति बनाएको छ,” उनले भनिन्, “त्यसैले आक्रमण भइरहेको अनुभव गर्दैछु।”
उपमेयर डंगोलले काठमाडौंको अभ्यासलाई अन्तर्राष्ट्रिय स्तरमा साटासाट गर्न पाइरहेको बताउँदै यसले पनि केहीलाई पोलिरहेको जनाइन्। “मैले जब अनुभव साटें, जब सिकें, तब कतिपयलाई असह्य भयो,” उनले भनिन्।
उनले आक्रमण गर्ने व्यक्तिहरूलाई ‘राष्ट्र विरोधी तत्व’को संज्ञा दिँदै, यस्ता तत्वहरू देशको प्रगति रोक्न सक्रिय रहेको आरोप लगाइन्।
यही कार्यक्रममा उनले आफू ‘योङ ग्लोबल लिडर’ बनेर देशको शीर उँचो बनाउन सफल भएको पनि उल्लेख गरिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रवादी सोचका कारण आक्रमण भोगिरहेको भन्दै उनीप्रतिको समर्थन पनि व्यक्त गरिन्।
प्रतिक्रिया