सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले डिजिटल प्रविधिको विकास केवल सेवा उपभोगमा सिमित नराखी स्वरोजगार, उद्यमशीलता र नवप्रवर्तनको साधन बनाउनुपर्ने बताएका छन् ।
मंगलबार कर्णाली डिजिटल कन्क्लेभको दोस्रो संस्करण उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रविधिलाई समावेशी विकास, सुशासन र नवप्रवर्तनको माध्यमका रूपमा लिनुपर्ने बताएका हुन् ।
कर्णालीलाई प्रविधिमा आत्मनिर्भरताको लागि सबै पक्षको सहकार्य अपरिहार्य भएको धारणा राखे । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको दोस्रो डिजिटल कर्णाली कन्क्लेभमा मुख्यमन्त्री कँडेलले प्रविधिको सशक्त प्रयोगले समाज परिवर्तन सम्भव भएको बताए ।
कर्णाली प्रदेशमा पर्याप्त पूर्वाधारको अभाव, इन्टरनेट पहुँच र जनशक्तिको कमीका बाबजुद डिजिटलाइजेशनको यात्रामा प्रदेश अघि बढिरहेको उनको भनाइ छ ।
कर्णाली जस्तो भौगोलिक बनावट भएको प्रदेशमा डिजिटल प्रविधिको महत्व झनै बढी छ उनले भने, ‘डिजिटल साक्षरताको अभाव, पूर्वाधारको कमजोरी र जनशक्तिको कमीका कारण कर्णाली अझै ‘डिजिटल डिभाइड’ को अवस्थाबाट गुज्रिरहेको छ ।’
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशलाई डिजिटल शिक्षाको केन्द्र बनाउन नमुना विद्यालयहरूमा डिजिटल शिक्षा कार्यक्रम प्रारम्भ गर्ने र कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवन बहादुर शाहीले डिजिटल प्रविधिले डिजिटल कर्णाली कन्क्लेभले डिजिटल कर्णाली बनाउन झक्झकाइ रहेको बताउँदै डिजिटलाइजको क्षेत्रमा कर्णालीलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
अर्का पूर्व मुख्यमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कर्णाली जस्तो विकट ठाउँमा सूचना प्रविधिको महत्व रहेको बताए । ‘सुरूवाती समयमा कर्णाली प्रदेशलाई डिजिटल बनाउने बताउँदा हासाँको रूपमा लिइएको थियो,’ उनले सुरूवाती दिन सम्झिए, ‘त्यसपछि हामीले डिजिटल पूर्वाधारका कामहरू अगाडि बढाएका थियौं ।’
कन्क्लेभमा पूर्व मुख्यमन्त्रीहरू, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, पूर्वमन्त्री गणेश शाह, सचिवहरू तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता छ । बुधबारसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा बृहत् छलफल हुनेछ । ‘इम्पावरिङ द फ्युचरः इनोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनविलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा चार वटा कि–नोट प्रस्तुतिसँगै आठ बढी सेसनहरू रहनेछन् ।
कन्क्लेभमा ५० बढी विज्ञहरू राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रूपमा सहभागी हुने जनाइएको छ । डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ, इन्नोभेसन, उद्यमशीलता र ई–गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया