Logo

विश्व

म्यान्मारका भूकम्पपीडिलाई ‘एनआरएनए थाइल्याण्ड’को सहयोग



बैंकक । हालै गएको विनाशकारी भूकम्पबाट प्रभावित बर्मेली नागरिकलाई लक्षित गरी गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् थाइल्यान्डले संकलन गरेको राहत रकम हस्तान्तरण गरिएको छ ।

थाइल्यान्डमा रहेका नेपाली समुदायबाट संकलित ७१ लाख ६ सय ४२ म्यान्मार क्याट बराबरको राहत सहयोग बैंकमार्फत म्यान्मारको भूकम्प प्रभावित क्षेत्रमा पठाइएको हो ।

यस मानवीय राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूप्रति एनआरएनए थाइल्यान्डले आभार प्रकट गरेको छ ।

विशेष रूपमा अभियानको समन्वय, व्यवस्थापन र कार्यान्वयनमा बिक्की पोखरेल र हिमालयन पौडेल (कालु)ले देखाएको अग्रसरता उल्लेखनीय थियो ।

यसैगरी वितरण कार्यमा अखिल म्यान्मा देशीय गोर्खा हिन्दू धार्मिक संघ, माण्डले शाखा र यससँग आबद्ध सम्पूर्ण पदाधिकारी तथा सदस्य वर्गको सक्रिय सहयोगका कारण राहत सहयोग प्रभावकारी रूपमा लक्षित समुदायसम्म पु¥याउन सम्भव भएको एनआरएनए थाइल्यान्डले जनाएको छ ।

संघका संयोजक सञ्जय ढकालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संकटको घडीमा देखिएको तपाईंहरूको उदारता, ऐक्यबद्धता र मानवीय संवेदनशीलता अत्यन्त प्रेरणादायी र सराहनीय छ । हामी सबैको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ यो पहल गरिएको हो ।’

एनआरएनए थाइल्यान्डले आगामी दिनहरूमा पनि विपद् पीडितका लागि सहयोग जुटाउने र मानवीय सेवामा जुटिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  १२ : १५ बजे