रामेछाप । डढेलो निभाउने क्रममा ज्यान गुमाएका १३ जना सैनिकको स्मृतिमा १६ वर्षपछि स्मृति पार्क निर्माण भएको छ ।
डिभिजन वन कार्यालय रामेछाप, रामेछाप नगरपालिका र खड्ग दल गणले संयुक्त रूपमा जिल्ला अस्पताल रामेछापको गेट नजिकै सो पार्क निर्माण गरेका हुन् । करिब २५ लाख रुपैँयाको लगानीमा निर्माण भएको पार्क शुक्रबार उद्घाटन गरिएको छ ।
पार्कको श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी युवराज कार्की र रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरे । स्थानीय उपभोक्ता समिति मार्फत पार्क निर्माणको काम भएको थियो ।
पार्क उद्घाटन गर्दै थापाले नेपाली सेनाले आफ्नो जीवनको समेत परवाह नराखी दैविक प्रकोप र विपतमा उद्धारको काममा खटेको बताए । सबैको सहयोगबाट विपतबाट हुने क्षति कम गर्न सकिने थापाले बताए ।
रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले ज्यान गुमाएका सैनिकहरू सेनाका कर्मचारी मात्र नभएर राष्ट्रकै विभूति भएका बताए ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले ढिलै भए पनि जीवन गुमाउने वीर सैनिकहरूको सम्मान भएको बताए ।
२०६६ वैशाख १० गते जिल्ला अस्पताल नजिकैको वादी पाखा सामुदायिक वनको जङ्गलमा लागेको आगो निभाउने क्रममा १३ जना सैनिक जवानहरूले ज्यान गुमाएका थिए । उनीहरूको सम्झनामा सो पार्क निर्माण गरिएको हो ।
प्रतिक्रिया