Logo

समाचार

खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक हो : मन्त्री यादव



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनताको विश्वास जित्न आवश्यक सम्पूर्ण पहल, लगानी र समन्वयलाई निरन्तरता दिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नीति निर्माणमा जनताको आवाजलाई प्राथमिकता दिँदै कार्यान्वयनमा पारदर्शिता र परिणाममुखीमा सुनिश्चित गरिने बताए ।

उनले भने, ‘खानेपानी सेवा जनताको जीवनसँग प्रत्यक्ष जोडिएको संवेदनशील अधिकार हो भन्ने मान्यताका आधारमा नीतिगत, प्रविधिगत र प्रशासनिक सुधारमार्फत दीर्घकालीन, दिगो र समावेशी विकासको दिशामा सरकार र बोर्डसँगसँगै अघि बढ्नेछौँ ।’

मन्त्री यादवले बोर्डले अघि सारेका योजनाहरूले नागरिकको जीवनस्तर, जन स्वास्थ्य तथा वातावरणीय दिगोपनमा अतुलनीय योगदान दिएको उल्लेख गरे  । ‘खानेपानी क्षेत्रको समग्र सुधारका लागि आवश्यक सबै पहल, लगानी र समन्वयलाई मेरो व्यक्तिगत प्रतिबद्धता रहनेछ,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको २० वर्षे यात्रालाई स्मरण गर्दै उनले यस संस्थाले दूरदर्शी सोच र दृढ सङ्कल्पका साथ स्थापना भएर परिपक्वताको चरणमा प्रवेश गरिसकेको बताए । उनले भने, ‘काठमाडौँ उपत्यकामा सुरक्षित, दिगो र समावेशी खानेपानी सेवा पु¥याउने लक्ष्यले अघि बढेको बोर्डको यात्रामा चुनौती, कठिनाइ र अवसरको सङ्गम रहे पनि प्राप्त सफलताहरू सम्पूर्ण नेपालीको गौरवको विषय बनेका छन् ।’

मन्त्री यादवले खानेपानी केवल सेवा नभई नागरिकको आधारभूत हक भएकोले यसलाई दीर्घकालीन दृष्टिकोणबाट समन्वयात्मक नीति, योजना र कार्यान्वयनमार्फत अघि बढाउनु आवश्यक रहेकोमा जोड दिए । 

खानेपानी मन्त्रालयका सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्यले बोर्डले नागरिकलाई प्रत्यक्ष सेवा पु¥याउँदै राम्रो कार्य गर्दै आएको बताउँदै अझ धेरै काम बाँकी रहेको बताइन् । उनले भनिन्, ‘जनताको मन जित्न सफल होऊन् भन्ने शुभकामना छ ।’

बोर्डका कार्यकारी निर्देशक डा.संजिवविक्रम राणाले चारसय भन्दा बढी स्थानमा वर्षा पानी सङ्कलन प्रणाली स्थापना भई करिब एक लाख जनसंख्या लाभान्वित भएको, २०३ वटा ढुङ्गेधारा, इनार र कुँवा संरक्षण एवं पुनःउत्थानले सांस्कृतिक र सामुदायिक जल स्रोतहरूलाई पुनर्जीवित बनाएको, ३१ स्थानमा पानी एटिएम प्रणालीमार्फत गुणस्तरीय पिउने पानी सर्वसुलभ रूपमा उपलब्ध गराइएको जानकारी दिए ।

त्यसैगरी, ७४४ डिप ट्युववेलको अनुमतिपत्र प्रदान, डिजिटल म्यापिङ तथा मोबाइल एपमार्फत जल स्रोतको प्रविधिमैत्री व्यवस्थापन, सुन्दरीजल खानेपानी प्रशोधन केन्द्र, ७४.७ किलोमिटर पाइपलाइन तथा ९ वटा पानीपोखरी निर्माण कार्य सम्पन्न भई हस्तान्तरण गरिएको र उपत्यकाको २०५० सम्मको गुरुयोजनाले स्पष्ट मार्गचित्र तय गरिएको उनले बताए ।

यद्यपि, पुरानो पाइपलाइन संरचनाका कारण पानी चुहावट, नोक्सानी र असमान वितरण प्रणाली, भूमिगत जलको अत्यधिक दोहन तथा शहरीकरणको तीव्रताले जलसन्तुलनमा गम्भीर असर, र ट्याङ्कर प्रणालीमा गुणस्तर र मूल्यको असमानता जस्ता समस्याहरू अझै प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गरियो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख अशोककुमार पौडेल, खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख टिकाबहादुर चौधरीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ७ : २० बजे