Logo

समाचार

शिलान्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडक उद्घाटन कार्यक्रममा सहभागी



चितवन । भरतपुर महानगरपालिका अन्तर्गत पुलचोकदेखि गोन्द्राङसम्म निर्माण सम्पन्न भएको ६ लेनको सडक आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सडकको उद्घाटन गर्दै देशको पूर्वाधार विकासमा यो आयोजना महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

उद्घाटन समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगर प्रमुख रेणु दाहाल लगायतको सहभागिता थियो। विशेष कुरा के छ भने, सडक निर्माणको शिलान्यास कार्यक्रममा अनुपस्थित रहेकी मेयर रेणु दाहाल उद्घाटन समारोहमा भने सहभागी भइन्।

२०७७ साल माघ १७ गते प्रधानमन्त्री ओलीले यो सडकको शिलान्यास गरेका थिए। त्यतिबेला मेयर दाहाल कार्यक्रममा नआएकोप्रति व्यंग्य गर्दै ओलीले भनेका थिए, “मेयर साहेब, यता नआएर पिकनिक खान जानु भएछ।”

करीब १ अर्ब ७६ करोड रुपैयाँको लागतमा निर्माण भएको यो ६ लेनको सडक ५० मिटर चौडाइको छ। सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र गरिएको छ भने बीचमा ३ देखि ४ मिटरको मेडियन बनाइएको छ। साथै, दुबैतर्फ नाली, सर्भिस लेन (५.५ देखि ६ मिटर चौडा), र सडक बत्ती पनि जडान गरिएको छ।

उक्त सडक भरतपुर क्षेत्रको यातायात व्यवस्थापनमा सुधार ल्याउनुका साथै व्यस्त सहरमा ट्राफिक सहज बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : ४५ बजे