काठमाडौं । निजामती विधेयकको प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक मत प्रस्तुत गरेका छन् ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिन पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताए । ‘कसैलाई कुलिन पिरियड लाग्ने, कसैलाई नलाग्ने किन ? अवकाश सबैको अवकाश हो, किन विभेद ?’ थानीले प्रश्न गरे ।
उनले भने, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? एउटै मापदण्ड तयार गरौं ।’
अतिरिक्त सचिव ब्युँताउने विषयमा उनले प्रश्न उठाउँदै भने, ‘अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको छ, तर यसमा मेरो फरक मत छ ।’
थानीले थपे, ‘अतिरिक्त सचिव नराख्दा पनि हुन्छ । राख्ने हो भने ऐनमा नै व्यवस्था गरौं । कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौं ।’
उनले बोल्न पनि गाह्रो भइरहेको बताए । अगाडि भने, ‘ट्रेड युनियनको कुरा कसरी राख्ने ? कर्मचारीको ९ बुँदे माग छ, यसलाई पनि सम्बोधन गरियोस् ।
थानीको अर्को फरक मतमा उल्लेख छ – अरुमा एक वर्ष, एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने व्यवस्था छ, तर कुरा उही हो, सबैलाई एउटै गरौं ।
पशु चिकित्सकलाई आठौं तहमा राख्नुपर्ने उनले सुझाव दिए ।
गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडि लिन पाउने बिदाको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।
हजारौं शिक्षक सडकमा रहेको उल्लेख गर्दै उनले भने, ‘भोलि कर्मचारी सडकमा जाने अवस्था नहोस् ।’
प्रतिक्रिया