रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा आयोजना गरिएको वडाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक खिम्ति युनाइटेड समाज खिम्तिले जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा खिम्ति युनाइटेडले पशुपति युवा क्लब खिम्तिलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पहिलो खेलमा खिम्ति युनाइटेडले २५–२२ को खेल खेलेको थियो भने दोस्रो खेलमा २५–१६ ले गेम जितेको थियो ।
लिखु तामाकोसी गाउँपालिकाका ६ वटा वडाका ८ वटा टिमले भाग लिएको प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेसँग खिम्ति युनाइटेडले ३५ हजार नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोस्रो हुने पशुपति युवा क्लबले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा लिखु तामाकोसी गाउँपालिका– २ सैपु तृतीय भएको छ । सैपुले माझी समाज खिम्तिलाई पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको हो । उसले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
लिखु तामाकोसी गाउँपालिका उपाध्यक्ष दीपा पाख्रिनले उद्घाटन गरेको खेल २ दिनसम्म चलेको थियो । खेलमा सहभागीलाई लिखु तामाकोसी गाउँपालिका–६ का वडाध्यक्ष शिवप्रसाद न्यौपाने लगायतले नगद पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरे ।
लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको आर्थिक सहयोगमा खिम्ति युनाइटेड समाजले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष न्यौपानेले खेल क्षेत्रलाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने बताए ।



प्रतिक्रिया