काठमाडौं । नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले पालिकास्तरीय फुट्सल प्रतियोगिता भव्यरूपमा सम्पन्न गरेको छ ।
हिजो शनिबार भक्तपुरको दिव्यश्वरी प्लानिङस्थित रोयल नेपाल फुट्सलमा प्रतियोगिता आयोजना गरिएको थियो । मैत्रीपूर्ण सो प्रतियोगितामा बिगु गाउँपालिका सम्पर्क मञ्चले ऐतिहासिक जित हासिल गरेको छ ।
प्रतियोगितामा कालिञ्चोक गाउँपालिका सम्पर्क मञ्चले दोस्रो र भीमेश्वर नगरपालिका सम्पर्क मञ्चले तेस्रो स्थान हासिल गरेका छन् भने तामाकोशी गाउँपालिका सम्पर्क मञ्चले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
सम्पर्क मञ्चले प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने बिगुलाई २० हजार १०० रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेको छ ।
त्यस्तै, दोस्रो स्थान हासिल गर्ने कालिञ्चोकलाई १५ हजार १०० रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्ने भीमेश्वरलाई १० हजार १०० रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यसैगरी, चौथो स्थान हासिल गर्ने तामाकोशीलाई पाँच हजार १०० रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको दोलखा–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूलाई नगद पुरस्कार र ट्रफीले सम्मान गरिएको थियो । जस अनुसार टीम बिगुमा रहेका खेलाडी सुजन श्रेष्ठले ‘बेष्ट प्लेयर’, टीम भीमेश्वरमा रहेका उत्तम शाहीले सर्वाधिक गोलकर्ता र टीम कालिञ्चोकमा रहेका निकेश बस्नेतले उत्कृष्ट गोलकिपरको सम्मान पाएका छन् ।
कार्यक्रमलाई सफल पार्न विभिन्न टीममार्फत सहभागिता जनाएका खेलाडीहरूलाई अध्यक्ष खड्काले विशेष धन्यवाद ज्ञापन गरेका छन् । यस्तै, प्रतियोगितालाई भव्य र सभ्य बनाउन सहयोग गर्ने आयोजकलगायत विभिन्न कमिटीका सबै नेताहरू, रेफ्रीहरू, मेडिकल सहयोगी संस्था तथा व्यक्ति, कार्यक्रम संयोजक देवेन्द्र भुजेललगायत खेलकुद विभागका सदस्यहरू र अन्य सहयोगीहरूप्रति पनि धन्यवाद प्रकट गरेका छन् ।
नेकपा एमालेलाई विभिन्न माध्यमबाट जनतासमक्ष पुर्याउने अभियानस्वरूप दोलखा–काठमाडौं सम्पर्क मञ्चले फुट्सल प्रतियोगिता आयोजना गरेको अध्यक्ष खड्काले जानकारी दिए । जनतासँग जोडिनका लागि विगतमा समेत यस प्रकारका रचनात्मक कामहरू गर्दै आएको बताउँदै उनले भावी दिनमा पनि यस्ता थुप्रै रचनात्मक गतिविधि गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मञ्चको वार्षिक कार्यक्रम तालिका अनुसार पहिलो पटक फुट्सल प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डितले उद्घाटन गरेको प्रतियोगिताको समापन समारोहमा पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल सहभागी थिए । नेता पोखरेलले विजयी टीमलाई ट्रफी हस्तान्तरण गर्नाका साथै सहभागी टीम र खेलाडीहरूलाई मेडल र प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा पूर्वमन्त्री समेत रहेकी पार्टीकी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सम्पर्क कमिटीकी इञ्चार्ज सरस्वती बस्नेत, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम कुमार बस्नेत, सदस्य तथा दोलखा काठमाडौं सम्पर्क मञ्चका इञ्चार्ज राम प्रसाद रिमाल, सदस्य राम पाण्डे, बिनिता सुवेदी, बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरी, उपाध्यक्ष सरोजमोहन लामा, उपसचिव अमृत कुमार खड्का, आर्थिक विभाग प्रमुख राजन पौडेल, दोलखा जिल्ला कमिटी सचिवालय सदस्य गणेश शिबाकोटी, सदस्य ओमकृष्ण आचार्य र प्रल्हाद लामिछानेलगायतका नेताहरूको सहभागिता थियो ।





प्रतिक्रिया