Logo

राजनीति

जय नेपाल फाउन्डेसनको नयाँ वर्ष भर्चुअल कार्यक्रममा डा. शेखर कोइरालाको प्रमुख आतिथ्य


२९ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले नयाँ वर्ष २०८२ को अवसरमा विश्वभर रहेका नेपालीहरूबीच शुभकामना आदानप्रदानका लागि विशेष भर्चुअल कार्यक्रमको आयोजना गर्ने भएको छ। फाउन्डेसन अन्तर्गतको ग्लोबल युथ नेटवर्कद्वारा आयोजना गरिने उक्त कार्यक्रम नेपाली समयअनुसार चैत्र ३० गते, शनिबार साँझ ६ः०० बजे Zoom मार्फत प्रसारण गरिनेछ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला प्रमुख अतिथि रहने छन्। साथै, पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद र गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नेछन्।

फाउन्डेसनका प्रवक्ता लाल प्रसाद काफ्लेले जानकारी दिएका अनुसार, अप्रिल १२ तारिखका दिन विभिन्न अन्तर्राष्ट्रिय समयअनुसार बिहानै कार्यक्रम सुरु हुनेछ – न्यूयोर्क समय अनुसार बिहान ८ः१५, टेक्ससमा ७ः१५, क्यालिफोर्नियामा ५ः१५ र बेलायतमा दिउँसो १ः१५ बजे।

ग्लोबल युथ नेटवर्कका अध्यक्ष मदनराज पौडेलले विश्वभरिका नेपालीहरूलाई एकसाथ जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए। “फाउन्डेसन मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यहरूमा विश्वास राख्नेहरूको साझा मञ्च हो,” उनले भने।

फाउन्डेसनले युवाहरूका लागि ‘ग्लोबल युथ नेटवर्क’, महिलाहरूका लागि ‘ग्लोबल विमन नेटवर्क’, सञ्चारकर्मीहरू, विज्ञ तथा खेलकुद क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सञ्जाल गठन गरी विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। हालसम्म अमेरिका लगायत विभिन्न देशमा ३८ वटा च्याप्टरहरू स्थापना भइसकेका छन्।

फाउन्डेसनका अध्यक्ष डा. यादव पण्डितले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  १२ : १२ बजे