काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड र अपराधी क्रियाकलापमा संलग्न थप दुई जना पक्राउ परेका छन्। घटनामा राज्य विरुद्धको कसूर, अपराधिक उपद्रव, र अन्य आपराधिक गतिविधिहरूको आरोप लगाइएको छ।
२०८१ सालको चैत १५ गते, काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्व अनुमति लिएर नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा प्रदर्शन आयोजना गरिएको थियो। तर, प्रदर्शनको क्रममा आयोजक तथा उनीहरूको समर्थकहरूले संघीय संसद भवन आसपासको निषेधित क्षेत्र तोड्नका लागि प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए। प्रदर्शनकारीहरूले प्रहरीको ज्यान लिने उद्देश्यले आक्रमण गरेका थिए भने, सुरक्षाकर्मीहरूलाई ढुङ्गा, लाठी र घरेलु हतियारसमेतले प्रहार गरी घाइते बनाएका थिए।
आक्रमणका कारण सर्वसाधारणको घर, निजी सम्पत्ति, सञ्चार गृहहरू, अस्पताल, प्रहरी कार्यालयहरू, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारण स्थल, नागरिक उड्यन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा तोडफोड र आगजनी भएका थिए। यस घटनामा सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरूसम्ममा आगजनी गरी दहशत फैलाइयो।
पक्राउ परेका व्यक्तिहरूको पहिचान यस प्रकार भएको छ:
- दिल कुमार श्रेष्ठ (उमेर ४५), भोजपुरका निवासी
- जित बहादुर श्रेष्ठ (उमेर ३०), सिन्धुपाल्चोकका निवासी
यी दुई प्रतिवादीलाई काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको र काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि २० दिनको म्याद थप गरिएको छ।
प्रतिक्रिया