Logo

समाचार

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै


१५ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने छन् ।

साथै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षता सबन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : २७ बजे