Logo

समाचार

संसदमा प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भयो :  प्रभु साह



काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले संसदमा हुने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन भएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले भने,‘आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको छ । सांसदले सोधेको प्रश्नको उत्तर नदिने यो प्रश्नोत्तर कार्यक्रम औचित्यहीन छ । यो कार्यसूचिबाट हटाईयोस भनेर माग गर्दछु । देवताले बास नगरेको मन्दिरको अर्थ हुँदैन, देवीले प्राण त्यागेपछि मूर्तिको पनि के अर्थ ? त्यस्तै प्रश्नको उत्तर नै नआएपछि प्रश्नोत्तर कार्यक्रमको के अर्थ, मैले यसअघि सोधेको प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुभएन । प्रभु साहको सवाल होईन, सवाल प्रश्नोत्तर कार्यक्रमको हो । सिंगो सदनको सवाल हो । सम्माननीय सभामुज्यूको पनि सम्मानको सवाल हो । संसदीय नियामावलीको हो । त्यसप्रति उत्तरदायी हुन सक्नुपर्दथ्यो, त्यसकारण आजको प्रश्नोत्तर कार्यक्रम कार्यसूचिबाट हटाउन आग्रह गर्दछु । यदि कार्यसूचिबाट हटाइएन भने म यो कार्यक्रम बहिष्कार गर्ने जानकारी गराउन चाहन्छु ।’

साथै उनले  गौर हत्याकाण्डका दोषीहरुमाथि अहिलेसम्म कारबाही नभएको विषयमा पनि सरकारको ध्यानाकार्षण गराएका छन् । उनले सरकारले पटक पटक पीडित परिवारसँग सम्झौता गर्ने गरेको र तर ती सम्झौत कार्यान्वयन नगरेको भन्दै गुनासो पनि पोखे ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : ३५ बजे