Logo

समाचार

अनाथालयलाई गरुडा नगरपालिकाबाट आर्थिक सहयोग



रौतहट । रौतहटको गरुडामा रहेको बंशिराम जैसवाल अनाथालयलाई नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले एक कार्यक्रमका बीच अनाथालयका अध्यक्ष बंशिराम जैसवाललाई अनुदान रकम प्रदान गरेका हुन ।

अनाथालयमा रहेका असहाय बालबालिकाको शिक्षादिक्षा, खानपान तथा आवश्यक सुविधाको व्यवस्थापनका लागि नगरपालिकाको संस्थागत अनुदान कार्यक्रम अन्तर्गत सो सहयोग प्रदान गरिएको नगर प्रमुख जैसवालले बताए ।

उनका अनुसार यस बर्ष पनि  सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथालयलाई आर्थिक सहायता रकम उपलब्ध गराएको हो । अनाथ तथा असहाय बालबालिकाको शिक्षा, स्वास्थ्य तथा अन्य आधारभूत आवश्यकतामा कुनै कमी हुन नदिने उनले  प्रतिबद्धता समेत जनाए । नगरपालिकाको सहयोगमा अनाथालयको भवन स्तरोन्नति भैरहेको उनले जानकारी दिए ।

 २०५२ सालमा स्थापना भएको अनाथालयमा हाल ८० जना बालबालिका अध्ययनरत रहेकोमा  २६ जना विद्यार्थी आवासीय सुविधामा बसेर अध्ययन गरिरहेको अनाथालयका अध्यक्ष बंशिराम जैसवालले बताए । यो अनाथालय विभिन्न व्यक्ती तथा संघ सस्थाको सहयोगको भरमा चल्दै आएको उनले उल्लेख गरे । २०५७ सालदेखि अनाथालयभित्र सामुदायिक विद्यालय सञ्चालनमा रहेको छ । त्यहाँ १ देखि ५ कक्षासम्म पढाइ हुन्छ । त्यसपछि बालबालिकाहरू नजिकको माविमा पढ्न जान्छन् । २ कठ्ठा ५ धुर जमिनमा अनाथालयको भवन, विद्यालय र मन्दिर रहेको छ । 

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ४ : १८ बजे