दोलखा । दोलखाको बिगु गाउँपालिका-४ स्थित लादुकको सुरीटारमा निर्माणाधीन ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजना ठेकेदार कम्पनीको लापर्वाहीका कारण कार्य रोकिएको छ। ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ नामक कम्पनीले श्रमिकसँग गरेका सहमतिहरू पालना नगर्दा काम रोकिनु परेको हो।
आयोजनामा कार्यरत श्रमिकहरूले नेपाली श्रम ऐन २०७४ अनुरूप रोजगार सम्झौतापत्र र विभिन्न १३ बुँदे माग राखेका थिए। यी मागमा चाडपर्व खर्च, दुर्घटना बीमा, स्वास्थ्य सुरक्षा, वार्षिक तलव वृद्धिका साथै अन्य सेवा सुविधाहरूको सुनिश्चितता थियो। श्रमिक जीवन मगरका अनुसार, फागुन १६ मा कम्पनीसँग यी विषयमा सहमति भएको थियो, तर समयमै कार्यान्वयन नगर्दा २८० फागुनदेखि सम्पूर्ण कार्य रोकिएको हो।
श्रमिक मदन कुमार श्रेष्ठले भने, “हामीसँग भएको सहमति पूरा नगरेको कारण हामीले काम रोक्ने निर्णय गरेका हौं। कम्पनीले हामीलाई रोजगार सम्झौतापत्र दिने वाचा गरेको थियो, तर त्यसमा ध्यान नदिँदा हामी बाध्य भयौं।”
श्रमिकहरूले यथाशीघ्र रोजगार सम्झौतापत्र उपलब्ध गराउन र अन्य माग सम्बोधन गर्न कम्पनीलाई ध्यानाकर्षण गराएका थिए, तर अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन। उनीहरूले विज्ञप्ति जारी गर्दै काम ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी अडिट-१ र २ को ठेकेदार कम्पनीले लिनुपर्ने बताएका छन्।
वर्तमानमा तामाकोशी पाँचौँ आयोजना ५ सय श्रमिकका लागि रोजगारीको स्रोत बनेको छ, जसमा ४०० जना नेपाली श्रमिक छन्।
प्रतिक्रिया