Logo

मुख्य समाचार

परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक


२३ फाल्गुन २०८१, शुक्रबार  

92
Shares

काठमाडौ  । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ ।

मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए ।

एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति जुटिरहेको बेला बैठकमा बोलाइएको हो ।

उक्त फैसलाको बुँदा नम्बर ३९ को प्रकरण ‘ज’मा उल्लेख भएबमोजिमको समन्वय र सहजिकरण प्रयोजनार्थ परराष्ट्रमन्त्री आरजु राणाले बैठक बोलाएको बताइएको छ ।

बैठक अपरान्ह १ बजे मन्त्रीको सचिवालयको बैठक हलमा बस्ने तय भएको छ । बैठकमा समितिका संयोजक घलेसहित सदस्यहरु डा.उपेन्द्र महतो, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा, कुमारप्रसाद पन्त, बिनोद कुंवर, उमेश कुमार पुडासैनी, जानकी गुरूङ्ग, कुल आचार्य, बद्री केसी र रविना थापालाई बोलाइएको छ ।

गत चैत २१ मा सर्वोच्चको फैसलापछि घलेले आगामी मेमा एकताको महाधिवेशन घोषणा गरेर कामकारबाही अघि बढाइसकेका छन् । 

यता बद्री केसीले भने घलेले एकताको महाधिवेशन गराउन नसक्ने जिकिर गर्दै आएका छन् । यस्तो विवाद चलिरहेकै बेला एक साताअघि  सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयले सचिवालय हस्तान्तरण गर्न दोस्रोपटक एनआरएनएलाई पत्राचार गरेको थियो । तर केसीले कार्यालय अझै हस्तान्तरण गर्न मानेका छैनन ।

तर परराष्ट्रले  फैसला कार्यान्वयन निर्देशनालयको पत्रपछि एकताको महाधिवेशन गराउन प्रतिनिधि पनि तोकिसकेको छ । यस्तो अवस्थामा परराष्ट्रले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

उक्त बैठकमा महान्यायाधिवक्ता रमेश बडालले आवश्यक ब्रिफिङ गर्ने बताइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १ : ५४ बजे