काठमाडौं । क्यानाडाबाट सञ्चालित नेपाल टच मिडियाले विदेशमा नेपाली भाषा जोगाउन सहयोग पु¥याउने उद्देश्यसहित पाँचौं वार्षिकोत्सव मनाउने भएको छ। ‘नेपाल टच’ क्यानाडाका नेपाली भाषीलाई सत्यतथ्य समाचार र तथ्यपरक सूचना पस्किदै टोरन्टोबाट सञ्चालित डिजिटल पत्रिका हो।
नेपाल टच मिडियाका सम्पादक बेनुप भट्टराईले दिएको जानकारी अनुसार नेपाली नयाँ वर्ष २०८२ का अवसरमा वार्षिकोत्सव मनाउने तयारी भइरहेको छ। ‘कोभिड १९’ महामारी सुरु हुँदै गर्दा सन् २०२० अप्रिल १५ अर्थात् नेपाली नयाँ वर्ष २०७७ बैशाख १ देखि यसको प्रकाशन आरम्भ भएको थियो।
पत्रकारिताको मर्यादित अभ्यास कायम राख्दै क्यानाडाका नेपाली भाषीको संघर्ष र सफलता तथा अनुभव र भोगाइलाई संसारभर फैलाउने उद्देश्यसहित ‘नेपाल टच’ सुरु भएको थियो।
जसले मुख्य वेबसाइटमार्फत् नेपाली र अंग्रेजी भाषामा समाचार, विचार, व्लग, अन्तर्वार्ता आदि प्रकाशन गरी सामाजिक सञ्जाल फेसबुक, युट्युव, टिकटक आदिमार्फत् पाठक तथा दर्शकसमक्ष पुर्याउँदै आएको छ ।
‘हामी थुप्रै चुनौती पार गरेर पाँचौं वार्षिकोत्सव मनाउने तरखरमा छौं’ सम्पादक भट्टराईले भनेका छन्, ‘विदेशबाट नेपाली भाषामा पत्रकारिताको अभ्यास गरिरहनुको आफ्नै खाले चुनौती र अवसर छन्।’ १८ अप्रिल २०२५ शुक्रवारका दिन टोरन्टो क्षेत्रकै ब्राम्टनमा वार्षिकोत्सव हुनेछ ।
सुरुबाटै नेपाली भाषी स्रष्टा र सर्जकलाई स्थान दिँदै आएको ‘नेपाल टच’ले पाँचौं वार्षिकोत्सव अवसरमा खुला प्रतिस्पर्धा नै आह्वान गरेको छ। कविता, निबन्ध, कथा, भिडियो र अंङ्ग्रेजी लेख गरी पाँच विधामा क्यानाडाका नेपाली भाषीबाट रचना मागिएको छ।
मार्च अन्तिमसम्म प्राप्त रचनाबाट सर्वोत्कृष्ट पाँच छनोट गरिनेछ’ सम्पादक भट्टराई भन्छन्, ‘ती रचनाका सर्जकलाई वार्षिकोत्सव अवसरमा पुरस्कार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ।’ वार्षिकोत्सवमा एक सय ५० जति नेपाली भाषी अगुवा सहभागी हुनेछन्।
लेखक तथा पत्रकार केदार शर्मा नेतृत्वको चार सदस्यीय स्वतन्त्र निर्णायक मण्डलले सर्वोत्कृष्ट रचना छनोट गर्नेछ । उक्त निर्णायक मण्डलमा क्यानाडाका नेपाली स्रष्टात्रय डा। पुण्यसागर मरहट्टा, डा। खेम गुरागाईँ र शर्मिला पोखरेल छन्।
विदेशबाट सञ्चालित नेपाली भाषाको मिडियाले मातृभाषाको जोगाइ राख्न प्रयास गरिरहेको उदाहरण हो यो’ नेपाल टचका कार्यकारी सम्पादक जयराम गौतम भन्छन्, ‘सबैले प्रयास गरे मात्र दोस्रो पुस्ताले नेपाली भाषा प्रयोग गर्छ भनेर पनि यस्तो गर्न लागिएको हो।’
लेखक तथा विश्लेषक मञ्जुश्री थापा प्रमुख अतिथि रहने वार्षिकोत्सवमा सर्वोत्कृष्ट रचनाका सर्जकलाई पुरस्कार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ। क्यानाडामा बसोबास गर्ने नेपाली भाषीले पाँचमध्ये आफूले चाहेको विधामा रचना पठाइ यसमा सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया