काठमाडौँ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जनाएको छ ।
आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्ध कार्य निर्देशनालयका निर्देशक सहायक रविन्द्र खत्रीले वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको जानकारी दिए ।
उनले भने,‘वि.स २०३२ सालमा १ करोड २४ लाख रुपैयाँबाट सुरु भएको कल्याणकारी कोष २०८१ साल पौष मसान्तसम्म आइपुग्दा ८७ अर्ब १ करोड रुपैयाँ पुगेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा नगद मौज्दात ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ र विभिन्न परियोजनाहरुमा लगानी सात अर्ब ७२ करोड ४४ लाख पुगेको छ ।’
त्यस्तै उनले निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको बताए । ‘निक्षेपको प्रतिशतमा आएको गिरावटले नेपाली सेनाका सेवाग्राही लक्षित कल्याणकारी कार्यहरू तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्न सक्ने सम्भावना बढ्दै गएको छ,’ उनले भने ।
कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी रहेको उनले जानकारी दिए ।
उनले भने,‘कोषको लगानीको रूपमा रहेको ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ विभिन्न परियोजनामा लगानी भएको छन् । जसमध्ये नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा रु २ अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा मात्रै १ अर्ब ६० करोड ६० लाख लगानी उल्लेखनीय रुपमा रहेको छ ।’
नेपाली सेनाले सात महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको पनि उनले बताए ।
उनका अनुसार हाल ११ वटा मिसनहरूमा नेपाली सेनाका महिला सैनिक ६४२ सहित कुल ५ हजार ९१३ जना शान्ति सैनिकहरूको सहभागिता छ ।
यस्तै संयुक्त राष्ट्रसंघको छातामुनि रही विश्व शान्ति कार्य र स्थायित्वको लागि सुरुदेखि हालसम्म विभिन्न ४४ वटा विभिन्न मिसनहरूमा एक लाख ५४ हजार ३ सय ४० जना नेपाली शान्ति सैनिकहरू खटाइसकिएको छ ।
यस कार्यको दौरान ७३ जना वीर सपूत सैनिकहरूले मृत्यु भएको र ६९ जना सैनिकहरू घाइते भई आजीवन असहज जीवनयापन व्यतीत गरिरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया