Logo

Breaking News 1

सहिद कप क्रिकेट प्रतियोगिता पुन : सञ्चालनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र



जनकपुर । सहिद कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्न माग गर्दै सहिद कप क्रिकेट कमिटीले मधेस प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

प्रतियोगितालाई यसै आर्थिक वर्षभित्र सम्पन्न गराउन बजेट व्यवस्था गर्न मागसहित शनिबार कमिटीले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र मार्फत आग्रह गरेको हो ।

सहिद कप क्रिकेट प्रतियोगिता मधेस प्रदेशकै खेलकुद क्षेत्रमा गौरवपूर्ण मानिन्छ । २०७२ सालदेखि सुरु भएको यो प्रतियोगिता क्लबस्तरीय खेलबाट प्रारम्भ भई इन्डो–नेपाल स्तर हुँदै अन्तरप्रदेशीय प्रतियोगिताको रूपमा विस्तार भएको छ । कमिटीले प्रतियोगितालाई अझ व्यापक बनाउन प्रदेश सरकारले अघिल्लो चौथो संस्करणमा आयोजकको भूमिका निर्वाह गरेको स्मरण गराएको छ ।

२०८१÷०८२ को वार्षिक बजेटमा सहिद कप प्रतियोगिताका लागि रकम छुट्याइएको अवस्थामा अन्तिम समयमा शिर्षक परिवर्तन गरी बजेट कटौती गरिएकोमा खेलप्रेमी र सहिदहरूप्रति अपमान गर्न खोजेको जस्तौ अनुभव भएको ज्ञापन पत्रमा उल्लेख छ ।

कमिटीले यथाशीघ्र बजेट व्यवस्थापन गरी प्रतियोगिता सम्पन्न नगरे चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

यता ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री सिंहले आफू पनि खेलप्रेमी भएकोले सहिद कप क्रिकेट हुनुपर्नेमा स्वयम इच्छुक रहेको बताए । उनले अर्थमन्त्रालय र खेलकुद मन्त्रालयसँग यस विषयमा समन्वय गरेर थप जानकारी गराउने प्रतिबद्धता जाहेर गरे । उनले सहिद कप क्रिकेट प्रतियोगिता आयोजना गर्न आफू सकारात्मक रहेको प्रतिक्रिया जाहेर गरे ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ५५ बजे