काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ६ : १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनले बताए । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो ।
आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ ।
नवदुर्गामध्येकी पाँचौं देवी स्कन्दमाताको पूजा, आराधना भने आश्विन शुक्ल पञ्चमीमा सूर्योदय हुने मंगलबार गर्नुपर्छ ।यसवर्ष नवरात्रमा चौथी तिथि वृद्धि भएको छ भने नवमी तिथि टुटेको छ ।
प्रतिक्रिया