काठमाडौं । चियाको चुस्कीसँगै दिनको सुरुवात गर्नेहरु शान्तिको चिया पसलमा नपुगेका विरलै होलान् । उनको पसलमा चिया मात्रै पाइदैन चियासँगै मिठो माया र सद्भाव पनि उत्तिकै पाइने हुँदा ग्राहकहरुको भिड नै लाग्ने गर्छ । मिजासिलो व्यवहारले ग्राहकरुलाई शान्तिको पसलतिर तानी रहेको ग्राहकहरु पनि बताउँछन् ।
स्थायी घर रामेछापको च्यास्कुने भएकी शान्ति थापा मगरले चिया बनाउन थालेको पनि २५ वर्ष बिति सकेको छ । उनी लामो समय देखि काठमाडौं बस्दै आइरहेकी छिन् । आकारमा हेर्दा एकदमै सानो पसल तर उनको पसलमा सबै थोक अटाएका छन् । उनको पसलमा नपाईने के छैन होला र ?
उनको पसलमा चियादेखि विद्यार्थीहरुका लागि आवश्यक पर्ने कपी, पेन, पेन्सील, इरेजर लगायतका सामग्रिहरु पनि रहेका छन् ।
‘म नेवारकी छोरी हुँ, पहिले पनि म काठमाडौं बासी हुँ । पछि मैले विवाह पश्चात पनि हामी डेरा लिएर काठमाडौं बस्दै आएका छौ ’ उनले भनिन् । १६ वर्षको कलिलो उमेरमा नै शान्तिले प्रेम विवाह गरिन् । प्रेमको अघि कुनै पनि कुराले छेक्न सक्दैन भन्ने पात्र हुन् शान्ति दाम्पत्ति । उनको चार दिदिबहिनी छन् । चार दिदिबहिनी मध्येको शान्ति घरकी माईली छोरि हुन् ।
काठमाडौंको साँखुमा जन्मिएकी शान्ति थापा मगर काठमाडौंको स्थायी श्रेष्ठकी छोरी हुन् । जुन बेला पाटन बहुमुखी क्याम्पस निर्माण हुन थालेको थियो, त्यो समय उनि त्यहाँ काम गर्ने शिलशिलामा गएकी थिइन् । काम गर्ने शिलशिलमा नै उनको भेट रामेछापको विक्रम थापा मगरसँग हुन पुग्यो । दिनँहु जसो भेटघाट हुने र काम पनि सँगै भए पछि विक्रम थापा मगर र शान्तिले एक अर्कालाई नजिकबाट चिनेका थिए । पछि उहि विक्रम थापा मगरसँग उनले विवाह गरिन् । जात नमिल्ने भएपछि आफ्नो प्रेमलाई न्याय दिनको लागि उनले भागी विवाह गरेकी थिइन् ।
विवाहमा दरार आउने डरले उनले रामेछापका विक्रमसँग भागेर विवाह गरेको शान्ति सुनाउँछिन् । भागेर विवाह गर्दा घरपरिवारले मान्नु भयो भनि प्रश्न गर्दा शान्ति भन्छिन्, सुरु सुरुमा पो मान्दैनन् मागेर गइसकेपछि मानिहाल्छन् । लजाउदै हासिन् शान्ति । सुरुमा घरपरिवारले अस्विकार गरेता पनि पछि भने शान्तिका परिवारले स्विकार गरेका थिए ।
उनमा कहिल्यै घमण्डको भाव थिएन । उनि सबैसँग मिजासिलो व्यवाहर गर्थिन् । किताबी ज्ञान नभए पनि उनि सँग व्यवाहारिक ज्ञान भने भरपुर छ । उनले जीवनमा ज्यामी काम देखि अनेकौ खालका संङर्घ गरि सकेकी छिन् । दुःख गर्ने मान्छे कहिल्यै घमण्डी हुन्न भन्ने शान्तिको जीवनबाट सजिलै थाहा पाउन सकिन्छ
अरुले देखेको जस्तो उनको जिवन त्यत्ति सहज भने थिएन । भाग्य, समय सबै फेरिए तर उनका श्रीमानले उनलाई गर्ने साथ सहयोग भने कहिले फेरेनन् । उनिहरुमा विगतमा जस्तै आजको दिनमा पनि उस्तै खालको माया देखिन्छ । शान्तिलाई विक्रमले नै पूणर् रुपमा सघाइरहेका छन् ।
पाटन क्याम्पमा ज्यामी काम गर्दा उनले सिमेन्ट बोक्नु पर्दथ्यो । उनले सिमेन्ट बोक्न नसकेपछि नआइजा भनेका थिए शान्तिका साहुले । कामलाई ज्यान भन्दा प्यारो मानेर उनले काम गर्न नसकेपछि शान्ति कामबाट निकालिएकी थिइन् । त्यसपछि उनको मनमा आफै केहिँ गरेर खानुपर्छ भन्ने सोचले डेरा जमाएको थियो र उनले त्यो सोचलाई पूरा पनि गरिन् । केहि गर्ने अठोट बोकेर शान्तिले कोठा भाडा तिर्न राखेको पैसाले नै व्यापार गर्ने नियणर् गरिन् ।
पहिलेको समयमा काठमाडौंमा कोठा भाडा सस्तो थियो तर त्यत्ति बेलाको समयमा भने थोरै पैसाको पनि मूल्य ठूलो थियो । उनले कोठाको भाडा आठ सय पचाँस रुपैया तिरेर नाङलो पसलको लागि लगानी गरेकी थिइन् ।
उनले सुरुवाती चरणमा नाङलो पसल गरिन् । नाङलो पसलमा उनले चिया, चुरोट, चाउचाउ, चक्लेट, बदम, चना, केराउ, खैनि लगायतका समानाहरु बिक्री गर्थिन् । नाङलोमा करिब बाह्र वर्ष जस्तो व्यापार गरे पश्चात भने उनले सटरमा नै चिया पसल गर्न थालिन् । सटर भाडा भने उनले तिर्न पर्दैन थियो । पछि नगरपालिकाले उनलाई त्यहाँबाट हटाए पछि कलेजले नै सानो ठाउँ दिएको शान्ति बताउँछिन् ।
पाटन कलेज गेटको नजिक शान्तिको चिया पसल रहेको छ । जहाँ उनको मिजासिलो व्यवहार भएकै कारण उनको पसलमा कलेजका विद्यार्थी देखि बाटो हिड्ने यात्रु सम्मको भिड लाग्छ । शान्तिको सानो चिया पसलमा लामबद्ध रुपमा मानिसहरु चिया पिउनको लागि लाइन बसेको देखिन्छ । उनी हास्दै भन्छिन् मैले चियाको व्यापार गर्न थालेको पनि २५ वर्ष बिति सकेको छ । नाताले पनि उनि हजुरआमा बनी सकेकी छिन् । विक्रम थापासँग भागेर विवाह गरेकी शान्ति थापा मगरको नाति नै २ कक्षामा पढ्ने भई सकेका छन् ।
तपाइले कतै घर घडेरी जोड्नु भयो कि भनेर प्रश्न गर्दा शान्ति भन्छिन्, ‘विरामी बुहारीलाई हेर्दा र घर खर्च, नातिलाई पढाउदै ठिक्क भयो । सम्पत्ति भने जोड्न सकिएन ।’ यसो भन्दै गर्दा शान्तिले मलिन अनुहार लगाइन् ।
शान्तिका पति के गर्छन् भनेर सोध्दा उनि भन्छिन्, ‘पहिले मसँगै नै ज्यामि काम गर्थे पछि उनि गाडिमा सहचालकका रुपमा काम गर्न थाले । समय वित्दै जादा पुराना गाडि हटाउँदा उनको पनि काम खोसिएको हो ।’ श्रीमानको काम खोसिएपछि उनका श्रीमान्ले पनि उनलाई चिया पसलमा सघाउने काम गर्छन् ।
शान्तिले स्कूलमा किताब, कपी बोकेर गएर भने पढेकि छैनन् । किताबका ज्ञान नबुझेकी शान्तिले भने जीवनको पाठ मज्जाले बुझेकी छिन् । उनको सानो चिया पसलमा गर्मीको समयमा बढि जुस बिक्रि हुन्छ भने जाडोको समयमा चिया बढि बिक्रि हुन्छ । दूध राखेको चिया शान्तिले एक कपको २५ रुपैयाँ लिन्छीन् भने कालो चियालाई उनले एक कपको २० रुपैया लिन्छीन् ।
कस्तो थियो त शान्तिको माइती परिवार ?
शान्ति नेवारकी छोरी हुन् । उनको परिवारमा उनका दाजुभाई भने थिएनन् । उनी नेवार परिवारकी माईली छोरी हुन् । शान्ति सहित उनको चार दिदिबहिनी छन् । उनले माइती घरमा पढ्ने मौका भने पाईनन् । पहिलेको समयमा छोरी मान्छेले पढ्नु हुदैन भन्ने मान्यताका कारण पनि शान्तिले पढ्न नपाएको उनी बताउँछिन् ।
को-को छन् त शान्तिको परिवारमा ?
शान्तिको परिवारमा २ छोरा बुहारी नाति र उनका श्रीमान् गरि ६ जनाको सदस्य रहेका छन् । उनका जेठा छोरा गोपाल थापा मगर हुन् । उनले नेपाल देखि दिल्लीसम्म गाडि चलाउने काम गर्छन् । गोपालको श्रीमति भने रोगका कारण २४ वर्षको उमेरमा नै बिती सकिन् । उनिहरु दुई दम्पत्तिको एक मायाको चिनो नातिलाई भने शान्तिले हेर्दै आइरहेकी छिन् ।
शान्तिको नातिको नाम भने आयुष थापा मगर हो । उनि होराइजन सेकेण्डरी स्कूलमा कक्षा २ मा पढ्छन् । पढाउने देखि स्याहार सुसारसम्मको सबै काम शान्तिले नै हेर्दै आइरहेकी छिन् । शान्तिको कान्छो छोराको नाम भने विजय थापा मगर हो । विजय थापा मगर भने कुक पेसामा आवद्ध रहेका छन् । उनको कान्छो छारो पनि विवाहित हुन् । उनको कान्छि बुहारीको नाम भने मनिका थापा मगर हो । उनिहरुको परिवार जेठि बुहारी गुमाउनु परेकोमा परिवार नै सोकमा डुबेको छ
चिया पसलबाट शान्तिको कमाई कति ?
शान्ति चिया पसलका लागि विहान ४ बजे देखि बेलुका ८ बजेसम्म खटिन्छिन् । उनी दिन रात नभनी कामका लागि मिहेनत गर्छिन् । उनको काम अनुसारको कमाई पनि सन्तोषजनक नै छ । जसले मह काट्छ उसले हात चाट्छ भने झै शान्तिले पनि परिश्रम अनुसार राम्रै आम्दानी गरिरहेकी छिन् । उनले दिनमै ५ हजार कमाउँछिन् ।
सामान्य कुराहरुमा वास्ता नगर्नेहरुका लागि, गर्न सके सामान्य व्यवासयले नै सोचे भन्दा बढि आम्दानी दिन सक्छ भन्ने उदाहरणकी पात्र बनेकी छिन् शान्ति । परिवार पाल्ने देखि १५ हजारको.कोठा भाडा तिर्ने र नातिलाई पालन पोषण गर्ने पढाउने उनकै चिया पसलको भर छ ।
प्रतिक्रिया